
सिजरिङ गरेर बच्चा जन्माएकी ललितपुरकी एकजना महिलामा पनि कोरोना संक्रमण भएको छ।
सुत्केरी हुनुअघि नै कोरोना परीक्षण गरिएपनि रिपोर्ट आउन ढिला भएपछि जेठ १२ मा सिजरिङ विधिबाट बच्चा जन्माएकी ललितपुर सुनाकोठीकी ती २३ वर्षीयामा शनिबार कोरोना पुष्टि भएको हो।
२३ वर्षीया उनले जेठ १२ ग्वार्कोस्थित किष्ट अस्पतालमा सिजरिङ गरेर बच्चा जन्माएकी थिइन्।
प्रसुति भएपछि डिस्चार्ज भइसकेकी उनमा कोरोना देखिएको हो। अपरेशन गर्ने बिरामीको पिसिआर परीक्षण गर्ने नीति अनुसार स्वाब संकलन गरेर टेकु पठाइएको थियो।
तर रिपोर्ट आएन। रिपोर्ट आउन ढिला भएपछि अस्पतालले सिजरिङ विधिबाट अप्रेशन गरेर बच्चा निकाल्यो।
तर त्यही अस्पतालमा उपचाररत बुङ्मतीका एक वृद्धको कोरोनाबाट ज्यान गयो। जेठ १४ गते ज्यान गुमाएका उनमा जेठ १५ मा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो।
जेठ १५ मा डिस्चार्ज भएर घर गएकी ती महिला पनि संक्रमित पाइएपछि अब अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी क्वारेन्टाइनमा जानुपर्ने भएको छ। राजधानी उपत्यकामै पिसिआर रिपोर्ट आउन एक साता लाग्न थालेपछि संक्रमितबाट अन्यमा कोरोना फैलिने जोखिम बढेको छ।