
काठमाडौँ । दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे ।
शनिबार बिहान दुल्लु नगरपालिका–११ का ३५ वर्षीय ती युवकको क्वारेन्टाइनमा मृत्यु भएको हो । तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।
भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ ।
यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १–१ जनाको मृत्यु भएको थियो ।
क्वारेन्टिनमा मृत्यु भएकी गर्भवती महिलाको पिसिआर नेगेटिभ
प्युठानमा यही जेठ १३ गते क्वारेन्टिनमा मुत्यु भएकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बस्दै आएकी महिलाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।
ती महिलाले लामो समयदेखि भारतमा बे्रन ट्युमरको उपचार गराइरहेकामा चिकित्सकले निको नहुने भनी घर पठाएका थिए ।
उनीसंगै क्वारेन्टिनमा बसेका उनका श्रीमान्, आमा, भाइ र दुई छोराको यसअघि आरडिटी रिपोर्ट नेगेटिभ आएको थियो ।