
रुकुम पश्चिममा अन्तरजातीय विवाहका विषयलाई लिएर ६ जनाको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्र संघअन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)ले गम्भीर चासो व्यक्त गरेको छ।
ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनामा शोक व्यक्त गर्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने बताएकी छन्।
नेपाल सबै प्रकारको जातीय विभेद उन्मूलन सम्मेलनको एक पक्ष राष्ट्र भएको स्मरण गराउँदै मिशेलले नेपालमा दलितहरूले गहिरो भेदभावको सामना गरिरहनु चिन्ताजनक भएको बताएकी छिन्।
साथै उनले विज्ञप्तिमा रुपन्देहीको देवदहमा शंकास्पद रुपमा ज्यान गुमाएकी १२ वर्षीया दलित किशोरीका बारेमा पनि चासो व्यक्त गरेकी छिन्।
शनिबार आफ्नी १७ वर्षीया प्रेमिकालाई बेहुलीका रूपमा भगाउन नवराजसहित सोती पुगेका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, नवराजकी प्रेमिका भनिएकी किशोरी, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।
?? #Nepal: UN Human Rights Chief condemns Dalit killings, incl. 5 men and a 12-year old girl. Shocked by incidents of caste-based discrimination & violence that have taken place during #COVID19, @mbachelet calls for an independent investigation ? https://t.co/s0M8KoShyP pic.twitter.com/tllawTFg55
— UN Human Rights (@UNHumanRights) May 29, 2020
रुकुम घटनाको विषयमा नेपालका विभिन्न जिल्लाहरुमा दलित संघ संस्थाहरु दोषिमाथि कारवाही माग गर्दै सडकमा निस्केका छन् । हिजो मात्रै पूर्वको खोटाङ जिल्लाका दलित युवाहरु सडकमा निस्केको खबर केटीएम दैनिकमा प्रकाशित भएको थियो ।