
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र फेरि नयाँ विवाद निस्किएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा अमेरिकी च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय घुसाएपछि विवाद निस्किएको हो ।
सत्तारुढ दल नेकपाभित्रै एमसिसीबारे विवाद रहेकाले एमसिसीले सहयोग गर्ने भनिएका कार्यक्रम अर्थमन्त्री डा. युवराज खतिवाडले बजेटमा समावेश गर्दै कार्यान्वयनमा लैजाने घोषणा गरेका थिए ।
जसमा एमसिसीको सहयोगमा अघि बढाउने भनिएको लप्सिफेदी–रातामाटे–दमौली–बुटवल र लप्सिफेदी–रातामाटे–हेटौँडा विद्युत् प्रसारणलाइन बजेटमार्फत नै अघि बढाइएको छ भनेर उनले बजेट भाषणमा प्रस्ट पारेका थिए । धेरै नेपालीले याद नगरे पनि केटिएम दैनिकले तत्काल समाचार बनाएको थियो ।
यी आयोजना सरकारको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको थियो । जसको विरोधमा संसदमा नेकपाकै सांसद भीम रावलले चर्को विरोध गरेका थिए ।
बजेटमा एमसीसी घुसाएपछि शुक्रबार अपरान्ह अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुले जुम बैठक गरेका थिए । विश्वस्त स्रोतका अनुसार उपाध्यक्ष बामदेव गौतमले जुम बैठकको व्यवस्था गरेका थिए । गौतमसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका अलावा प्रवक्ता नारायणकाजी श्रेष्ठ जुम बैठकमा सहभागी भएका थिए । उनीहरुले सरकारको कार्यशैलीको समिक्षा गरेको बुझिएको छ ।
सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेशका बेलामा ओलीविरुद्ध बनेको गुट फेरि ब्युँतिएको छ । सचिवालयका यीनै पाँचजना त्यतिबेला ओली हटाउन सम्मको निर्णयमा पुगेर लागेपनि आपसी मतभेदका कारण असफल भएका थिए । बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएर ओलीले गुट भत्काइदिएका थिए । तर, ओलीको कार्यशैलीप्रति स्वयं गौतम निकै असन्तुष्ट बनेपछि अब चाहिं नटुट्ने गरी एकता गरेर जाऔं भन्दै पाँच जनाको बैठक डाकेका थिए ।
एमसीसीबारे ओली निकट नेताहरु पनि विरोधमा छन् । उनीहरुले संसदबाट एमसीसी पारित गर्न केही विषयमा संशोधन हुनुपर्ने अडान राखेका छन् ।
अहिले शुरु भएको सचिवालय बैठकमा एमसीसी बजेटमा घुसाइएको विषयका अलावा नक्शा संसदमा छलफलका लागि पेश गर्न गरिएको ढिलाई, लकडाउनको समिक्षालगायतमा छलफल हुने बुझिएको छ । आज ओलीमाथी उनी निकट रहेका नेताहरु आक्रामक ढंगले प्रस्तुत हुने तयारीका साथ बालुवाटार पुगेका छन् ।
विश्वस्त स्रोतका अनुसार केही नेताहरुले सरकार ढाल्न फेरि नयाँ अस्त्र तयार गरेका छन् । यसपटकको अस्त्र एमसीसी लगायतको हुने बुझिएको छ । ओली सरकारमाथि एकैपटक धेरैवटा अस्त्र प्रहार गर्ने गरी नेकपाभित्रका नेताहरुको एक गुट पूर्ण तयारीका साथ बढेको छ ।