
पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ ।
पाकिस्तान सरकारले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तर्राष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागेको बताइएको छ ।
पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी सूचनामा भनिएको छ ।प्राधिकरणले घरेलु उडानलाई भने विभिन्न चरणमा गरी यस पहिले नै सुरू गरिसकेको छ । “संघीय सरकारको निर्णय अनुसार पाकिस्तानबाट हुने अन्तर्राष्ट्रिय उडानहरू शुक्रबार राति २३:५९ पछि सुरू हुनेछन् ।”
“ग्वादर र तुर्वत विमानस्थलबाहेकका पाकिस्तानका सबै अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालनका अनुमति दिइएको छ,” सूचनामा भनिएको छ ।
सरकारले पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया भने यसअगाडी नै तोकेको छ । अन्तर्राष्ट्रिय उडानका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्नेछ ।
जसमा विमानलाई उडानपूर्व कीटाणुशोधन प्रक्रियालाई प्रत्याभूत गर्ने र विमानस्थलमा भिडभाड नगर्ने लगायतका कोभिड–१९ सङ्क्रमणबाट सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीहरू रहेका छन् । पाकिस्तानले अन्तर्राष्ट्रिय उडानलाई गत मार्चदेखि रोकेको थियो ।
भारतमा पनि आन्तरिक उडान खुल्यो
कोरोना संक्रमण तीव्र रूपमा फैलिरहे पनि भारतमा करिब दुई महिनायता बन्द रहेको आन्तरिक हवाई सेवा सोमबारदेखि नियमित गरिएको छ । तर, पश्चिम बंगाल र आन्ध्र प्रदेश राज्यले केही दिनपछि मात्र उडान खुला गर्ने भएका छन् ।
भारतमा कोरोना महामारी नियन्त्रण र रोकथामका लागि भन्दै २५ मार्चदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएका थिए । संक्रमण फैलने क्रम जारी रहे पनि लामो समय उडान बन्द गर्दा अर्थतन्त्रमा धक्का पुग्ने भएपछि खोल्ने निर्णय गरिएको हो ।
उडानका लागि भारतको गृह मन्त्रालयद्वारा जारी गरिएको दिग्दर्शनअनुसार यात्रुहरूले दुई घण्टाअगावै एअरपोर्ट पुग्नुपर्नेछ भने काउन्टर चेकइन नगरी अनलाइनबाट हुनेछ । उडानमा खाना/नास्ता र पत्रपत्रिका दिइने छैन । सामाजिक दूरी र यात्राका क्रममा मास्क अनिवार्य गरिएको छ । उडान गर्नुअघि र ओर्लेपछि थर्मल स्क्रिनिङ हुनेछ । साथै यात्रुलाई घरमै १४ दिन क्वरेन्टाइनमा बस्न भनिएको छ ।
नेपालमा जेठ मसान्तसम्म बन्द

नेपालमा चैत ११ गतेदेखि गरिएको लकडाउन जेठ २० गतेसम्म जारी छ । लकडाउन भएसँगै नेपालमा घरेलु र अन्तराष्ट्रिय उडानहरु बन्द भएका छन् । छिमेकी देशहरुले उडान खोल्न थालेपछि नेपाल सरकारले भने जेठ मसान्त सम्म घरेलु तथा अन्तराष्ट्रिय उडानहरु बन्द गरेको छ ।
उडान बन्द भएतापनि नेपालबाट विभिन्न देशहरुले विमान चार्टर गरेर आफ्ना नागरिकहरु लगिरहेका छन् । नेपालमा अन्य देशबाट यात्रु लिएर आउनको लागि बन्द गरिएको छ भने नेपालमा यात्रु लिएर जानलाई भने छुट दिइएको छ । यो बन्दले कार्गो वा मेडिकल सामानहरु ल्याउने विमानहरुलाई भने केही असर गरेको छैन ।