भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरुका लागि सरकारले २० वटा नाका तोकेको छ ।
शुक्रबार बसेको कोडिभ-१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।
तोकिएका नाकाहरुमा पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका रहेका छन् ।
भारतबाट झण्डै तीन लाख नेपालीले तत्काल नेपाल आउन चाहेको सरकारले अनुमान गरेको छ । त्यस्तै सरकारले तेस्रो मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने छिट्टै प्रक्रिया थाल्ने भएको छ ।
भारतले यात्रुबाहक रेल सेवा सञ्चालन गरेपछि धेरै नेपालीहरु सीमाक्षेत्रबाट लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् । ती व्यक्तिहरुले समुदायमा कोरोना संक्रमण फैलाउन सक्ने जोखिम बढेकाले सरकारले नाका तोकेर उनीहरुलाई परिक्षण गरिने नेपाल भित्र्याउने तयारी गरेको हो ।
आजको मितिसम्म विभिन्न नाकाबाट विना परिक्षण नेपाली नागरिकहरु भित्र्याउँदै आएको समाचारहरु पनि आइरहेका छन् ।
नेपालमा अहिले कोरोना संक्रमण देखिएका धेरैजसो भारतबाट आएका नेपाली नागरिकहरु रहेका छन् । त्यसैले भारतबाट नेपाल आउन चाहने नागरिकहरुलाई सरकारले चेकजाच गरेर निश्चित नाकाबाट ल्याउने तयारी गरेको हो ।