खाडीमुलुक कतारमा कोरोना संक्रमितको संख्या ५३ हजार नजिक पुगेको छ ।
शुक्रबार १ हजार ९ सय ९३ नयाँ केस थपिएसँगै संक्रमितको संख्या ५२ हजार ९ सय ७ पुगेको हो।
कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ६४ जनाको परीक्षण गरिएको थियो ।
कतारमा उपचारपछि निको हुनेको संख्या २० हजार ६ सय ४ पुगेको छ ।
मन्त्रालयका अनुसार कतारमा अहिले ३२ हजार २ सय ६७ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये गम्भिर अवस्थामा रहेका २ सय १७ जनाको आइसियूमा राखेर विशेष उपचार भैरहेको छ ।
कतारमा संक्रमितको संख्या उच्च रहेपनि मृत्युदर भने न्युन छ । हालसम्म कतारमा ३६ जनाले मात्रै कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । शुक्रबार प्रकाशित गरिएको रिपोर्टमा तीन जनाको मृत्यु भएको उल्लेख छ।
मन्त्रालयले अहिलेसम्म २ लाख १२ हजार ८ सय ९७ जनामा कोरोनाको परीक्षण गरिएको जनाएको छ ।
दोहास्थित नेपाली राजदूतावासका अनुसार कतारमा अहिले ३ लाख ५१ हजार ८ सय ७२ जना नेपालीले रोजगारी गर्दै आएका छन् । तर, कतारमा सरकारी तथ्याङक भन्दा बढि करिब ४ लाख नेपाली रहेको अनुमान छ ।
कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङक छैन ।
केहीदिन अघि कतारमा ७ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांक बाहिर आएको थियो । कतारको सरुवा रोग निवारण विभागको तथ्याङकलाई श्रोत उल्लेख गर्दै ७ हजारको हाराहारीमा नेपाली संक्रमित भएको एनआरएनएले जनाएको थियो ।
गत मे १९ तारिख विभागले निकालेको उक्त तथ्याङ्कमा कुल संक्रमितमध्ये ६ हजार ९ सय ११ जना नेपाली रहेको बताइएको छ । कुल संक्रमित मध्ये नेपाली समुदाय दोश्रो स्थानमा छन् । यद्यपि यो तथ्याङ्कको आधिकारिक पुष्टी भने हुन सकेको छैन ।
कतारको सम्बिन्धत निकायले आधिकारिक रुपमा पुष्टि नगरेकोले यो तथ्याङक अपुष्ट मानिएको हो । कतारमा संक्रमण बढिरहेकोले पछिल्ला दिनहरुमा संक्रमित नेपालीहरुको संख्या पनि बढेको अनुमान गरिएको छ ।
तर, कतारको सम्बिन्धत निकायले यस विषयमा आफूलाई केही जानकारी नगराएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारका लागि नेपाली राजदूत डाक्टर नारदनाथ भारद्वाजका अनुसार ठ्याक्कै भन्न नसकिए पनि नेपालीहरु संक्रमित भने भएका छन् ।
कतारमा मृत्यु हुनेमा १ जना नेपाली नागरिक समेत रहेका छन् ।