काठमाडौं । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रवार बसेको बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ । बैठकमा कुन कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्ययोजना प्रस्तुत भएको थियो ।
उनीहरुलाई उद्धार गरेर काठमाडौं ल्याएपछि १४ दिन होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्नुपर्नेछ । होटल क्वारेन्टाइनमा आफ्नै खर्चले बस्नुपर्नेछ,व्यक्तिको सामर्थय हेरेर सरकारले हवाइ तथा क्वारेन्टाइन खर्चको निर्णय गर्ने बताएको छ ।
त्यस्का लागि सातै प्रदेशमा एक एक जना मन्त्री फोकल पर्सन तोकिएको छ,क्वारेन्टाइन अवधि सकेर परीक्षणपछि ती मन्त्रीको समन्वयमा उनीहरु आ आफ्नो घर जानेछन्
विदेशबाट फर्केका नेपालीलाई समन्वय गरि घर पठाउन तोकिएका फोकल मन्त्रीहरु
प्रदेश १ :बसन्त नेम्वाङ
प्रदेश २: रामेश्वर राय
वागमतीःपार्वत गुरुङ
गण्डकीःपद्मा अर्याल
प्रदेश ५ वर्षमान पुन
कर्णालीःशक्ति बस्नेत
सदूरपश्चिमःलेखराज भट्ट
शुक्रबार पेश भएको कार्ययोजनामा मन्त्रीहरुले सुझाव दिएपछि त्यसलाई थप परिमार्जन गरेर अन्तिम रुप दिन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिइएको छ । सो कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराउन उपप्रधानमन्त्री सहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् ।