
रोल्पा : चट्याङ लागेर दक्षिणी रोल्पामा शुक्रबार दुई महिलाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँको गुठिमधारामा दुई महिलाको मृत्यु भएको हो ।
चट्याङ लागेर ७५ वर्षीया खिर्मा वाँठा र २१ वर्षीय आशा बुढामगरको मृत्यु भएको हो । बिहान करिब दश बजेतिर परेको चट्याङले दुवैजना बेहोस भएका थिए । २४ वर्षीय सविन बुढामगर पनि चट्याङमा परेका थिए। उनको अवस्था सामान्य रहेको छ । मृत्यु भएकी खिर्माका भतिजा कर्णहादुर वाँठामगरका अनुसार बिहानको खाना खाएर बसिरहेको बेला चट्याङ परेको थियो ।
खिर्मा बिहीबार साँझ माइती आएकी थिइन्। मृत्यु हुने आशा घाइते सविनकी पत्नी हुन् भने खिर्मा फूपू हुन् । चट्याङले पत्नी र माइती आएकी फूपूको मृत्युले बुढामगर परिवार र आफन्त शोकामा डुबेका छन् ।
चट्याङबाट बच्न यस्ता उपाय अपनाउ:
चट्याङ परेको बेला घर बाहिर हुँदा खुला ठाउँमा टाउको र खुट्टा जोडेर गोलो परेर बस्नुपर्छ ।
रुखको नजिक नबस्न, बिजुली र फोनको पोल, अग्ला भवन नजिक बस्दा पनि खतरा हुनसक्छ ।
चट्याङ परेको बेला विद्युतीय सामग्री प्लगमा जोड्नु हुँदैन । ल्याण्डलाइन फोनमा कुरा पनि गर्नु हुँदैन । तर मोबाइल फोन भने चलाउन सकिन्छ ।
गाडीमा रहेमा सिसा लगाएर बस्नु पर्छ । धातुका गाडी सुरक्षित हुने भए पनि प्लाष्टिकका गाडी असुरक्षित हुन्छ ।
चट्याङ परेको बेला खेतमा पानीमा काम गर्न र पौडी खेल्न हुँदैन ।
घरभित्र बस्दा झ्याल र भित्ता नजिक बस्नु हुँदैन ।
धाराका पानीमा करेन्ट आउनसक्ने भएकाले यस्तो बेला धाराको प्रयोग पनि गर्नु हुँदैन ।