सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत वडा नं २ मा घोगा लाग्न शुरु भएको मकैबालीलाई हालै आएको हावाहुरीले क्षति पुर्याएको छ ।
पटक–पटकको हावाहुरीले नौबीसे, सातबीसे, ढाँडेखोला, कामीटार खोला, कुविण्डे र जलवीरेमा पर्ने करिब ८०० हेक्टर क्षेत्रको खेतमा लगाएको मकैका बोट ढालेर क्षति पुर्याएको वडासदस्य तिलक कार्कीले जानकारी दिए ।
बेँसी भेगमा त्यस क्षेत्रका कुविण्डे, जलवीरे, नौबीसेलगायतका खेत मकै उत्पादनका लागि जिल्लाकै उर्वरभूमिका रूपमा परिचित छ । किसानले हाइब्रिडलगायत विभिन्न जातका मकै लगाएकामा सम्पूर्णबाट ढलेर सोत्तर भएपछि उत्पादनमा कमी आउने जनाइएको छ ।
त्यहाँका ढाँडेखोला, कामीटार खोला र लामोसोतीका फाँटहरु जिल्लामा आवश्यक पर्ने रामपुर कम्पोजिट जातका मकैको बीउ उत्पादन हुने क्षेत्र हो । यस वर्ष उक्त जातको बीउ उत्पादन गर्न करिब ५०० रोपनी क्षेत्रमा लगाइएकामा आगामी वर्षको लागि बीउको समेत अभाव हुने उनले बताए ।
त्यसैगरी बारीमा लगाएको करिब २० रोपनी क्षेत्रको मकैबालीमा पनि अमेरिकी फौजी किराले सखाप पारेको छ । सिन्धुपाल्चोक जिल्लाका चौतारा सागाचोकगढी नगरपालिका, त्रिपुरासुन्दरी तथा इन्द्रावती गाउँपालिकाका केही वडा पनि अमेरिकी फौजी किराको प्रकोपबाट प्रभावित भएको किसानले गुनासो गरेका छन् ।
के हो अमेरिकी फौजी किरा
अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलो पटक अमेरिकामा देखा परेको थियो।
अमेरिकाको विभिन्न भाग हुँदै अफ्रिका महादेश पुगेको यो कीरा सन् २०१८ मा भारत, श्रीलङ्का, म्यान्मार, भियतनाम, चीन, ताइवान, थाईल्यान्ड र बाङ्ग्लादेशमा देखा परेको थियो।
वैशाख २६ गते नवलपुरस्थित गैँडाकोटको मकैबारीमा भेटिएका कीराका विभिन्न अवस्थाको अध्ययन गरेपछि नेपालमा पनि फौजी कीरा फैलिएको नेपाली कीटवैज्ञानिकहरूले पहिलो पटक पुष्टि गरेका छन्।
गर्मी महिनामा एक रातमै एक सय किलोमिटरभन्दा लामो यात्रा गर्न सक्ने यो मिचाहा कीरा पुतली समूहमा पर्छ र राति सक्रिय हुन्छ। यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो।
बालीमा क्षति पुर्याउने चाहिँ कीराको लार्भाले हो।
फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ।
अमेरिकी फौजी कीराको लार्भा अवस्थाले मकैको पात, गुभो, जुँगा, घोगा समेतमा असर पुर्याउँछ।
साना लार्भा पातको तल्लो सतहबाट हरियो भाग खाँदै झिल्ली बनाएर पातमा सर्छन्।
त्यसपछि लार्भाको आकारमा वृद्धि हुँदै जाँदा पातमा खाएको प्वालहरू देखा पर्दै जाने र पछि यसले गुभो र घोगासमेत खाने गरेको पाइएको छ ।