
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालालाई सरुवा गरेको बताइएको छ । कोरोना भाइरसको महामारीका बेला पनि विवादास्पद निर्णय एकपछि अर्को गर्न थालेपछि सरकारले उनलाई हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्याललाई जिम्मेवारी दिएको छ ।
देश कोरोना भाइरससँग जुधिरहेका बेला कोइरालाले भने स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत गन्दैनथे । नेकपाका शीर्ष नेतासँग आफ्नो राम्रो सम्बन्ध रहेको रवाफ दिँदै आएका उनलाई तीन महिनामै हटाइएको हो ।
तीन महिना अगाडि स्वास्थ्य सचिव बनेका कोइरालाको कार्य सम्पादन राम्रो नभएको भन्दै आलोचना भइरहेको थियो।
नेपालमा सरुवा रोग विशेषज्ञको संख्या एकदमै न्यून छ । कोरोनाले भयावह रूप लिँदै गएका बेला जनतालाई सामाजिक सञ्जालमार्फत सुसूचित गर्दै आएका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई मन्त्रालय तान्ने निर्णय यिनै कोइरालाले गरेका थिए ।
स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीभन्दा जान्ने बुझ्ने भएको भन्दै कोइरालाले डा.पुनलाई देखाइदिने भन्दै सरुवाको निर्णय गरेका थिए । तर, सारा जनता डा.पुनको पक्षमा उत्रिएपछि सरकारले बाध्य भएर उनलाई पुरानै जिम्मेवारीमा फर्काएको थियो । कोइरालाको गतिविधिले सरकार झनझन बदनाम हुँदै गएपछि उनलाई स्वास्थ्य मन्त्रालयबाट तानिएको एक मन्त्रीले बताए ।
सरकारको सारा शक्ति कोभिड १९ नियन्त्रणमा होमिएका बेला फ्रन्ट लाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग कोइरालाले पटक पटक विवाद गर्दै आएका थिए । कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको स्रोतले जनाएको छ।