
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि कालापानीबाट भारतले सेना फिर्ता लैजानुपर्ने बताएका छन् । भारतीय सञ्चारमाध्यम द हिन्दूलाई दिएको अन्तर्वार्तामा उनले सीमा विवादलाई वार्ताबाट समाधान गर्नुपर्ने र भारत त्यसका लागि तयार रहनुपर्ने उल्लेख गरेका छन् ।
हिन्दूको अनलाइन संस्करणमा बुधबार प्रकाशित अन्तर्वार्तामा मन्त्री ज्ञवालीले दुई देशका प्रधानमन्त्रीस्तरबाट सहमति भएर बनेको विदेश सचिवस्तरीय संयन्त्रको बैठकका लागि मिति तोक्न नेपालले गरेको प्रस्तावलाई भारतले बेवास्ता गरेको बताएका छन् ।
एेतिहासिक दस्तावेजले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै प्रमाणित हुने भन्दै ज्ञवालीले नेपाललाई हस्तान्तरण गरेर फिर्ता जान भारतलाई आग्रह गरेका छन् ।
‘सुस्ता र कालापानीको भूभाग साटासाट गरेर समाधान खोजिए नेपाललाई स्वीकार्य हुन्छ ?’ भन्ने भारतीय पत्रकारको जवाफमा मन्त्री ज्ञवालीले वार्तापछि हुने सहमतिले मात्र यसलाई निर्धारण गर्ने बताएका छन् । तर, कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपाली भूमि नै भएको उनले यसमा कुनै सम्झौता नहुने उनले प्रस्ट पारेका छन् ।
तर, भारतले एकतर्फी नक्सा सार्वजनिक गरेर सो सहमतिको ठाडो उल्लंघन गरेको भन्दै उनले नेपालको संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव चाँडै पारित हुने र त्यसका लागि फास्ट ट्रयाक विधि अपनाइने पनि जानकारी दिएका छन् ।
संविधान जमिनको आधारभूत कानून भएकाले संशोधन गर्न लागिएको र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई संशोधन प्रस्तावका विषयमा छलफलका लागि थप समय चाहिएकाले बुधबार संसदको कार्यसूचीबाट हटाइएको उनले बताएका छन् ।