
प्रदेश १ सरकारले कोरोना सङक्रमणको परीक्षण दैनिक २ हजारसम्म पुर्याउने तयारी थालेको मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
बुधबार सुरु भएको प्रदेश १ को बर्खे अधिवेशनलाई सम्बोधन गर्दै राईले सरकारले दैनिक २ हजार जनामा कोरोना परीक्षण गर्ने योजनालाई मूर्त रुप दिन नीतिगत रुपमै निर्णय गरिसकेको सदनसमक्ष जानकारी गराएका छन् ।
उनले भने, “कोभिड १९ परीक्षण एक्सन प्लान बनाइएको छ । अहिले पीसीआर परीक्षण तीन ठाउँबाट भइरहेको छ । अहिले दैनिक ३ सय २० जनाको परीक्षण भइरहेको छ । अब ल्याबको क्षमता बढाएर दैनिक एक हजार पुर्याइने छ ।” मुख्यमन्त्री राईले चीनको तिब्बत सरकारको सहयोगमा दुईवटा पीसीआर ल्याब मेसिन आउँदै गरेको र थप दुई ल्याब सञ्चालनमा ल्याएर दैनिक २ हजार जनामा पीसीआर परीक्षण गरिने बताए ।
सबैभन्दा धेरै परीक्षण क्षमता भएको प्रदेश १ हुने र यो केही दिनभित्रै सुरु हुने राईको भनाइ छ । राईले तिब्बत सरकारबाट ८ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री तातोपानी नाका आइसकेको पनि सदनलाई जानकारी गराए ।
हाल विराटनगरमा दैनिक १५०, धरानमा १५० र विराटनगरको प्रादेशिक प्रयोगशालमा २० जनामा पीसीआर परीक्षण हुँदै आएको छ । राईले आइसोलसन बेडसहितको अस्पताल संख्या र क्षमता बढाउने सरकारले निर्णय गरिसकेको समेत जानकारी दिए ।
आज मात्रै प्रदेश नम्बर १ को झापामा जिल्लामा १७ जना नयाँ सङक्रमित फेला परेका छन् । उनीहरु झापाको गौरादहका २ जना र कचनकवल गाउँपालिकाका १५ जना हुन् ।