
नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंको भृकुटीमण्डपमा रहेको प्रदर्शनी हल, वीर अस्पतालको नयाँ भवन र सेनाको अस्पताल भवनलाई क्वारेन्टाइन स्थल बनाउन माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कोरोना भाइरस दिनदिनै बढिरहेको बताउँदै भृकुटीमण्डपमा १ सय जना अट्ने क्वारेन्टाइन बनाउन आग्रह गरे ।
उनले सीमा नाका सिल नभएको र मानिसहरु आइरहेकाले भोलिका दिनमा काठमाडौंमा भयावह हुन सक्ने भन्दै ती क्वारेन्टाइन काम लाग्ने बताएका हुन् ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर १० का सांसद राजन केसीले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउँदै कोरोना परीक्षणमा आरडीटी भरपर्दो नहुँदा नहुँदै किन त्यसलाई नै प्राथमिकता दिएको भन्दै प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद केसीले आफ्नो निर्वाचन क्षेत्रको चन्द्रागिरी नगरपालिकामा आरडीटी परीक्षण गर्दा ५६ जनामा पोजिटिभ देखिएपछि क्वारेन्टाइनमा राखेको तर पीसीआरमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।
उनले विश्व स्वास्थ्य संगठनले पनि मान्यता नदिएको आरडीटी प्रविधि गलत रहेको भन्दै मन्त्रीले आरडीटीलाई किन प्राथमकिता दिएको भन्दै प्रश्न गरे ।
५ दिनसम्म ५६ जना र उनका परिवार आतंकित भएको बताउँदै पिसीआर नै भरपर्दो हुने भएकोले त्यसलाई नै अघि बढाउन आग्रह गरे ।
लाईभ भिडियो यहाँबाट हेर्नुहोस