झापाको कनकाई नगरमा क्वारेन्टिनमा बसेका मानिसलाई नियमति योगाभ्यास गराउन थालिएको छ ।
नगरको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा रहेको क्वारेन्टिनमा बस्दै आएका ५६ जनालाई क्वारेन्टिन परिसरमै सामाजिक दूरी कायम राख्दै बिहान ६ बजेदेखि पहिलो चरणमा योगाभ्यास सञ्चालन गरिएको हो ।
कोरोनाको कहरसँगै लकडाउन थप हुँदै गएको वर्तमान अवस्थामा उत्पन्न विभिन्न किसिमका मानसिक तनाबबाट अलग रहनसमेत सहयोग पुग्ने विश्वासका साथ योगाभ्यास सञ्चालन गरिएको बताइएको छ ।
पतञ्जली योग नगर समिति कनकाईले योगाभ्यासको सहजीकरण गरेको समितिका नगर अध्यक्ष टीकाप्रसाद जमरकट्टेलले बताए । अभ्यासका क्रममा स्वस्थ खानपान, योग व्यायाम, प्रणायमका साथै स्वास्थ्य सुरक्षा सामग्रीको उचित प्रयोगका बारेमा जानकारी दिइने छ ।
क्वारेन्टिनमा बस्दै आएका मानिसको रोगसँग लड्ने क्षमताको विकास गर्दै उनीहरुको आत्माबल बढाउनका लागि योगाभ्यासको भूमिका महत्वपूर्ण हुने विश्वास लिइएको छ ।
भारतले लकडाउन खुकुलो पारेसँगै झापाका सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका नेपालीको क्वारेन्टिन बसाइलाई सहज बनाउने उद्देश्यले योगाभ्यास सञ्चालन हो ।
रोजगारीको सिलसिलामा भारतको विभिन्न ठाउँमा रहेका नेपाली स्वदेश फर्कने क्रम बढेपछि कनकाई नगरका क्वारेन्टिनमा केही निश्चित समयसम्मका लागि राखिएका नगरवासीलाई योगाभ्यास गराउन थालिएको हो ।