
मकवानपुर / आज साँझ आएको हावाहुरीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रूखले थिचेर एक महिला र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएको पुष्टि गरेका छन् ।
मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–५ का ५० वर्षीया वीरमाया प्रजा र वडा नं ३ का ६ वर्षीय आयुस मगर रहेका छन् ।
मृतक प्रजाको घटनास्थलमै मृत्यु भएको हो भने मगरको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अध्यक्ष मल्लले जानकारी दिए ।
त्यसैगरी हावाहुरीकै कारण सरिखेतका दुईजना घाइते भएको उनले बताए ।