
भारतमा विश्वका अन्य मुलुकको तुलनामा कोभिड–१९ बाट सङ्क्रमित बिरामी निको भएर घर फर्किनेको दर ४१.६१ प्रतिशत रहेको भारतको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।
भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या पनि विश्वको कम क्षति हुने मुलुकहरूमा जस्तै रहेको मन्त्रालयको दाबी छ ।
स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले पत्रकार सम्मेलनमा भने, “अहिलेसम्म ६० हजार ४ सय ९० कोभिड–१९ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
कोरोनाभाइरस सङ्क्रमण निको हुनेको दर अहिलेसम्म ४१.६१ प्रतिशत रहेको छ । हाल सङ्क्रमित मध्येमा मृत्यु दर पनि विश्वमा कोरोना भाइरस प्रकोप रहेका अन्य ठूला मुलुकहरूको तुलनामा निकै कम अर्थात् २.८७ प्रतिशत रहेको छ ।”
अग्रवालले भने, “भारतमा विश्वमा सङ्क्रमितको औषत सङ्ख्या निकै कम रहेको छ ।विश्वभर प्रति एक लाखमा ६९.९ व्यक्तिमा सङ्क्रमण रहेकोमा भारतमा यो दर प्रति लाखमा १०.७ व्यक्ति रहेको छ ।” यो तुलना विश्वभर सङ्क्रमितको सङ्ख्यामा आधारित रहेर गरिएको गरिएको उनको भनाइ थियो ।
भारतमा बन्दाबन्दी (लकडाउन), सामाजिक दूरी कायम गर्नेजस्ता अन्य मार्ग निर्देशनलाई अन्य मुलुकहरूको तुलनामा राम्रोसँग पालना गरिएको र सङ्कटलाई अन्य मुलुकमा भन्दा नियन्त्रणमा राख्न सम्भव देखिएको अग्रवालले जानकारी दिए ।
उनले विश्वका अन्य प्रभावित मुलुकहरूको तुलना गर्दै भने, “स्पेनमा सङ्क्रमित दर प्रति लाख ५०४ छ भने बेल्जियममा ४९९, अमेरिकामा ४८६ छ भने मेक्सिकोमा ५२.२ रहेको छ ।”
धेरै सङ्क्रमण रहेका मुलुकहरूको तुलनामा भारतमा सङ्क्रमितको मृत्यु निकै नै थोरै भएको सहसचिव अग्रवालले बताउँछन् ।
उहाँले भन्नुभयो, “यद्यपि महामारीमा ज्यान गुमाएका हरेक व्यक्तिको मृत्युको पीडावोध राज्यले गरेको छ । विश्वमा कोभिड–१९ बाट बढी सङ्क्रमित भएका मुलुकहरूमध्ये भारत कम प्रभावित मुलुक हो । कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या दर ६.४ प्रतिशत रहेकोले भारतमा मृत्यु हुनेको सङ्ख्या दरलाई निकै कम भनिएको हो ।”
भारतमा मङ्गलबारसम्ममा एक लाख ४५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने विगत २४ घण्टामा देशभर सङ्क्रमितको सङ्ख्या छ हजार ५३५ रहेको उहाँले बताउनुभयो ।