नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । विभिन्न प्रयोगशालामा भएको परीक्षणमा आज मात्रै ९० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५, भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, पोखराको प्रयोगशालामा २, सुर्खेत प्रादेशिक अस्पतालमा १२, नेपालगन्जमा ७, दाङमा गरिएको परिक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।
आज थपिएका संक्रमितहरु महोत्तरी, जुम्ला, बारा, रौतहट, सिराहा, धनुषा, बाँके, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, रुपन्देही, कैलाली, अछाम, स्याङ्जा, सुर्खेतका रहेका छन् ।
अहिलेसम्म नेपालमा ४६ वटा जिल्लामा संक्रमण फैलिसकेको छ । जसमध्ये आज नयाँ संक्रमित भेटीएका जिल्लाहरु अर्घाघाँची, जुम्ला र स्याङजा हुन् ।
बितेको २४ घण्टामा ३ हजार ७ सय ८२ पीसीआर परीक्षण गरिएको छ ।
आज थप २६ जना डिस्चार्ज भएका छन् अहिलेसम्म कोरोनालाई जितेर घर फर्कनेहरुको संख्या १५५ पुगेको छ । जसमध्ये १२४ जना पुरुषहरु रहेका छन् भने ३१ जना महिला हुन् । तीमध्ये केही नाबालक पनि रहेका छन् ।
संक्रमितको संख्या ७७२ पुग्दा प्रदेश १ को ७ जिल्लाका ८६ जना संक्रमित फेला परेका छन् भने प्रदेश २ का ८ जिल्लामा २६८ जना संक्रमित भेटिएका छन् भने बाग्मति प्रदेशका ११ जिल्लामा ३८ जना संक्रमित, गण्डकी प्रदेशका ४ जिल्लामा ७ जना, प्रदेश ५ को ८ जिल्लामा ३३१ जना, कर्णाली प्रदेशको ३ जिल्लामा २५ जना र सुदुरपश्चिमको ५ जिल्लामा १७ जना संक्रमित रहेका छन् ।