
५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भारतबाट श्रमिकको आवागमन बढेकाले प्रदेशमा संक्रमितको संख्या थपिएको बताएका छन् । प्रदेशसभाको बैठकमा कोरोनाको तयारीको विषयमा जानकारी दिँदै पोखरेलले भारतले क्वारेन्टाइनमा राख्ने काम नगरेपछि संक्रमण फैलिएको बताए ।
‘भारतले नेपाल आउन चाहनेलाई सीमामा ल्याएर छाडिदिने गरेको छ । कमजोर सीमा क्षेत्रमा छाडिदिँदा भित्रिने क्रम बढ्यो । भारतले क्वारेन्टाइनमा राख्न नसकेपछि सीमामै राख्न उपयुक्त नभएर नेपाल भित्रिएका छन्’, उनले भने ।
मुख्यमन्त्री पोखरेलले संक्रमण बढ्दै जादा त्यस अनुरुपको तयारी सरकारले गरिरहेको जानकारी दिए । ‘नेपालकै ५० प्रतिशत क्षमताको क्वारेन्टाइन प्रदेश ५ मा बनाएका छौं । नेपालभरको आधा संख्या हामीले राखेका छौं । प्रदेशले काम गरेकै कारण ठूलो संख्यामा क्वारेन्टाइनमा राख्न सकेका हौं, उनले भने ।
प्रदेशमा तीन वटा प्रयोगशालाले निरन्तर परीक्षणको काम गरेका छन् । परीक्षण गर्ने संख्या धेरै भएकाले भिटिएम फ्रिजमा राख्नुपर्ने अवस्था आएको मुख्यमन्त्रीले जानकारी दिए । यस्तो अवस्था भारतबाट आउनेकै कारण भएको उनको भनाइ छ । संख्या बढ्दै जादा स्वभाविक रुपमा जटिलता उत्पन्न भएको संसदलाई जानकारी गराए ।
संक्रमित समाजमा पुगेरै फैलिएको घटना नरहेको भन्दै उनले अहिलेको अवस्थालाई नियन्त्रण गर्न सकिने बताए । मुख्यमन्त्री पोखरेलले आगामी बजेट कोरोना नियन्त्रणमा केन्द्रीत रहेर आउने बताए । श्रम गर्न नसक्नेलाई राहत र श्रम गर्नेलाई रोजगारी दिने योजना रहेको उनले बताए । भारतबाट आउने श्रमिकलाई नेपालकै उद्यममा लगाउन चालु आर्थिक वर्षमै २१ करोड बजेट बिनियोजन गरिएको उनले जानकारी दिए । आगामी बजेटलाई समेत सोही ढाचामा ढाल्ने नीति कार्यक्रम रहेको उनले बताए ।