
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे ।
नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।
कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन ।
छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।
पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए ।
जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा पर्यो । त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए ।
यही घटना आज राष्ट्रियसभामा पनि उठेको छ । जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापा बादलले उनीहरु ३ वर्षदेखि प्रेममा रहेको र अब उक्त्त प्रेम विवाहमा परिणत गर्न चाहेको बताएका छन् ।
उनका अनुसार युवतीलाई भगाई लाने क्रममा केटी पक्ष र केटा पक्षका आफन्तबीच झैझगडा हुँदा केटी पक्षकाले केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए । जाजरकोट भेरी नगरपालिका–४ बस्ने केटा पक्षका २१ वर्षीय सुदीप खड्का सामान्य घाइते भएको र केटा पक्षकै पाँचजनालाई अस्थायी प्रहरी पोष्ट रावतगाउँ र सातजनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको मन्त्री थापाले जानकारी दिए । हालसम्म फेला परेका शव परीक्षणका लागि जाजरकोट अस्पतालमा राखिएको छ ।
त्यस्तै सरकारले जाजरकोट घटनाको छानविनका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानविनका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरिएको उनले जानकारी दिए ।
हेराैं पुरा भिडियाे