
भारतमा आजबाट आन्तरिक उडान खुला भएको छ।
भारतका नागरिक उड्डयन मन्त्री हरदीप पुरीले गत मे २० मै एक ट्विट गर्दै मे २५ बाट भारतमा आन्तरिक उडान खुला गर्ने तयारी रहेको जानकारी गराएका थिए।
उनले सबै विमानस्थल र वायु सेवा प्रदायकलाई तयारीमा बस्न जानकारी दिइसकेको पनि उल्लेख गरेका थिए। नेपालमा भने जेठ मसान्तसम्मको लागि सबै प्रकारका घरेलु तथा अन्तराष्ट्रिय उडानहरु बन्द गरिएका छन् ।
कोरोना संक्रमण फैलिँदै गएपछि भारतमा करिब दुई महिनायता आन्तरिक उडान बन्द थिए। अहिले पनि भारतमा संक्रमण तीव्र गतिमा फैलिएको छ। सोमबार बिहानसम्म त्यहाँ १ लाख ३८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।
कोरोना भाइरस सर्वाधिक फैलिएका देशको सूचीमा भारत १०औं स्थानमा उक्लिएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा १ लाख ३८ हजार ५ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
सूचीको सबैभन्दा माथि अमेरिका छ। त्यसपछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी, टर्की तथा भारत छन्। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या चार हजार नाघेको छ।
पछिल्लो तथ्यांक अनुसार त्यहाँ ४ हजार २४ जनाको मृत्यु भइसकेको छ।