
नेपाल राष्ट्र बैंकले तत्कालीन राजाको तस्वीर अंकित कुनै पनि नोट प्रयोग नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै तत्कालीन राजाहरुका तस्बिर अंकित नोट निष्काशन र पुनःप्रयोगमा नल्याउन निर्देशन दिएको हो।
परिपत्रमा राजाको तस्बिरअंकित नोट पुनः निष्काशन अयोग्य नोटको रुपमा वर्गीकरण गर्न निर्देशन दिइएको छ।
परिपत्रमा उल्लेख भएअनुसार अब बैंक तथा वित्तीय संस्थाले त्यस्ता नोट फेरि बजारमा पठाउन पाउने छैनन्।
राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापाले जारी गरेको परिपत्रमा भनिएको छ, ‘झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई विग्रेको नोटमा रहेका अक्षर अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रंग लागेको, लेखिएको,कोरिएको, मेटिएको, च्यातिएको वा तत्कालीन राजाको तस्वीर अंकित नोटलाई पुन:निष्काशन अयोग्य नोटको रुपमा बर्गीकरण गर्नुपर्नेछ र त्यस्ता नोटलाई चलनचल्तीको लागि पठाउन हुँदैन।’
९ बुँदमा जारी गरिएको परिपत्र गभर्नरको कार्यालय देखि लघुवित्त बैंकर्स संघसम्मका १३ वटा वित्तीय क्षेत्रलाई बोधार्थ दिइएको छ।
बैंक तथा वित्तीय संस्थाले अयोग्य नोटहरुलाई आफ्नो नोट कोषमा जम्मा गर्न पनि निर्देशन दिइएको छ।
राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार अबदेखि बैंक तथा वित्तीय संस्थाले काउन्टर, एटीएमलगायत मेसिनबाट प्राप्त चलनचल्तीमा पठाउन काउन्टरबाट भुक्तानी गरी दिने नोटलाई तीनभागमा छुट्याउनु पर्नेछ।
जसमा एटीएमबाट पठाउने रकमलाई हरियो, काउन्टरबाट पठाउनेलाई सेतो र अयोग्यलाई रातो रंगको क्लिप प्रयोग गर्नुपर्नेछ । त्यस्तै नोटमा स्टीच प्रयोग नगरी नोटमा रबर प्लास्टिक, पेपर व्याण्ड प्रयोग गर्न पनि राष्ट्र बैंकले भनेको छ।