
सोह्रखुट्टेमा आज एक कोरोना संक्रमित भेटिएसँगै काठमाडौँ महानगरपालिका वडा नम्वर–१६ को कालधारा ठमेलक्षेत्र सिल गरिएको छ ।
कालधारा अगाडि बस्ने ६९ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण देखा परेपछि सिल गरिएको हो ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक राजकुमार भट्टले ठमेलबाट खुशिबु टाउनप्लानिङ निस्कने कालधारा मार्ग सिल गरिएको जानकारी दिए । सङ्क्रमित व्यक्ति दुई महिनाअघि अष्ट्रेलियाबाट आएका थिए ।
उनको श्रीमतीमा भने सङ्क्रमण देखिएको छैन । वडा जनप्रतिनिधिको आग्रहपछि स्वास्थ्य परीक्षण गर्न टेकु पुगेका श्रीमान र श्रीमतीमध्ये ती पुरुषमा आइतबार कोरोना भाइरस सङ्क्रमण पोजिटिभ देखिएको हो ।
प्रहरी निरीक्षक भट्टले भन्छन्, ‘ती व्यक्ति चैतको पहिलो हप्ता अष्ट्रेलियाबाट खाडी मुलुक हुँदै नेपाल आएका रहेछन् । तर, कोरोना भाइरसको सङ्क्रमण भने यति बेला देखिएको छ । कोरोना भाइरस सङ्क्रमणको ‘ट्रेसिङ’ गर्ने कार्य भइरहेको छ ।
सङ्क्रमित व्यक्तिले पनि आफू नजिकैको तरकारी पसल र टोलको डेरीबाहेक अन्त कतै नगएको बताएका छन् । संक्रमित व्यक्तिमा कोरोनाको लक्षणसमेत नभएको पाइएको छ ।
कालधाराको पूर्वोत्तरमा ठमेल र दक्षिणतिर खुशिबु टाउनप्लानिङबाट आउने सडकमार्ग बन्द गरिएको छ । सङ्क्रमित व्यक्ति बस्दैआएको घर र छिमेकीहरूका घर, किराना पसल र सडकमा ओहोरदोहोर गर्न निषेध गरिएको छ ।
र यो पनि पढ्नुहोस् :
संक्रमित ६०३ पुग्दा कुन प्रदेश र जिल्लामा कति ? तथ्यांकसहित
नोट : यस समाचारमा प्रयोग गरिएको तस्विर सांकेतिक तस्विर हो । जुन Pixabay बाट लिइएको हो ।