
कतारमा कोरोना सङ्क्रमित नेपालीको संख्या झण्डै ७ हजार पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्ममा कतारमा ६ हजार ९ सय ११ जना नेपाली संक्रमित भएका हुन् ।
अघिल्लो हप्ता २५ सय नेपाली संक्रमित भएकोमा यो हप्ता मात्रै थप ४ हजार ४ सय ११ जनालाई कोरोना संक्रमण देखिएको एनआरएनएको स्वास्थ्य समितिको तथ्यांक छ ।
स्वास्थ्य समितिका संयोजक डा . सञ्जीव सापकोटाका अनुसार नेपालीका मुख्य श्रम गन्तव्य अर्को देश यूएई ५ सय नेपाली सङ्क्रमित भएका छन् । यस्तै अहिलेसम्म साउदीमा १ हजार ३ सय ६४, बहराइनमा ३ सय ३१, कुवेतमा ८४, मलेसियामा ५५ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै समितिका संयोजक डा. सापकोटाका अनुसार यो सातामात्रै यूएईमा थप ९ जनासहित कोरोनाको कारण ज्यान गुमाउने नेपालीको संख्या १८ पुगेको छ ।
यस्तै साउदीमा यो साता ५ जनासहित अहिलेसम्म ७ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ । बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको स्वास्थ्य समितिले जनाएको छ ।