
लद्दाखस्थित सीमा क्षेत्रबाट केही दिनअघि भारतीय सेनाको एउटा टोलीलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको छ।
आफ्नो सीमा क्षेत्रमा पसेपछि भारतीय सेनाको टोलीलाई चिनियाँ जनमुक्ति सेनाको टोलीले नियन्त्रणमा लिएको खुले पनि भारतीय पक्षले भने यस कुरालाई नकार्दै आएको छ।
चिनियाँ सैनिकले भारतीय सेनालाई बन्धक नै बनाएर राखेको समाचार प्रकाशित भइरहेका छन्। यद्यपि यसबारे भारतीय सेना सूत्रले भने खबरमा कुनै सत्यता नभएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
समाचारअनुसार चिनियाँ सेनाले गत साता पनि भारतका जवानलाई बन्दी बनाएको बताइन्छ। त्यसपछि उनीहरुलाई रिहा गरिएको थियो। भारतीय सरकारले यस घटनाबारे अहिलेसम्म केही बोलेको छैन। चीनले लद्दाखको प्याङ्गङ्ग ताल क्षेत्र र गालवन उपत्यका आसपाको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा सैन्य उपस्थिति बढाउँदै लगेको छ।
समाचार अनुसार चीनले सैन्य शक्ति बढाएर भारतसँग जुनसुकै चुनौतीका लागि तयार रहेको सन्देश दिएको छ। भारतीय सेनाको विरोधका बाबजुद चीनले गालवन गल्छीमा दुई सातायता १ सय अस्थायी क्याम्प खडा गरिसकेको छ।
यसका अलावमा त्यहाँ बंकर बनाउने मेसिन पनि उतारिएको बताइन्छ। यसैबीच भारतीय सैन्य प्रमुख जनरल मनोज मुकुन्द नरवणे शुक्रबार लेह पुगेका थिए। जहाँ उनले शीर्ष सैन्य कमाण्डरसँग बैठक गरेका छन्। यसमा एलएसीमा विवादित स्थलसमेत पूरै इलाकाको सुरक्षा अवस्थाको समीक्षा भएको थियो।
समाचार अनुसार भारतीय सेनाले पनि प्याङ्गङ्ग ताल र गालवन गल्छीमा चीनको चुनौतीलाई तयार रहन सैन्य क्षमता बढाउने भएको छ। त्यस क्षेमा भारत र चीनका सैनिकबीच यस महिना तीन पटक झडप भइसकेको छ।