
बेइजिङ : चीनको कान्सु प्रान्तको सदरमुकाम लान्चौबाट मे २३ मा नेपालका लागि कार्गो रेल छुटेको छ । यससँगै लान्चौबाट दक्षिण एसिया रेल तथा अन्तर्राष्ट्रिय कार्गो रेल पुनः सुरू भएको छ ।
यो ३९० टन सामान बोकेको कार्गो रेलका कन्टेनरलाई तिब्बतको शिगाचे पुगेपछि इन्टरमोडल ट्रान्सपोर्ट तरिकाबाट सडकको माध्यमबाट ढुवानी गरिनेछ । जुन दस दिनभित्र काठमाडौँ पुग्नेछ । सो कार्गो रेल १३ लाख अमेरिकी डलर मुल्य बराबरका दैनिक आवश्यकताका सामानहरू, जुत्ता, कपडा, गाडीका सरसामान तथा निर्माण सामग्रीले भरिएका छन् ।
लान्चौबाट शिगाचेसम्म २,४३१ किलोमिटरको रेल यात्रापछि ५६४ किलोमिटरको सडक यातायातबाट केरूङ र त्यहाँबाट १६० किलोमिटरपछि काठमाडौँ पुग्नेछ । यो चीनको पश्चिमी क्षेत्रको विकासका लागि एउटा महत्वपूर्ण प्लेटफर्म हुनुको साथै बेल्ट एण्ड रोड र अन्तर्राष्ट्रिय व्यापारका लागि पनि एउटा महत्त्वपूर्ण हब हो । दक्षिण एसियाली बजार विस्तार गर्न आर्थिक र व्यापार सहयोग प्रवर्द्धनका लागि उत्कृष्ट विकल्प बनेको छ ।
२०१६ मै ११ बाट दक्षिण एसिया रेल तथा अन्तर्राष्ट्रिय कार्गो रेलको आरम्भ भएयता रेल तथा रेलसेवा सञ्चालनको गुणस्तर निरन्तर सुध्रिँदैआएको छ । चिनियाँ सञ्चार माध्यम अनुसार, हालसम्म व्यापार मात्रा करिब ४ बिलियन युआन पुगेको छ ।
कान्सुको लान्चौबाट सर्वप्रथम सन् २०१६ मैमा पहिलो पटक काठमाण्डुका लागि रेल छुटेको थियो । यहाँबाट निरन्तर रूपमा सञ्चालन भए तापनि पछि अनियमित भएको थियो । यसैगरी २०१६ डिसेम्बरबाट चार महिनासम्म कार्गो रेल सञ्चालनपछि बन्द भएको थियो ।
यसबाहेक, मै २२ मा सियानबाट पनि काठमाडौँका लागि यस्तै मालवाहक रेल छुटेको छ । यहाँबाट हप्तामा एक पटक काठमाडौँका लागि कार्गो रेल पठाउने योजना बनाएको आयोजक सियान अन्तर्राष्ट्रिय लजिस्टिक सेन्टरिक पार्कले बताएको छ ।
अन्नपूर्ण पोष्टबाट