
झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा एक जना कोरोना संक्रमित भेटिएकै दिन भारतबाट ८७ जना मानिस भित्रिएका छन् ।
विभिन्न स्थानीय तहमा पठाउने गरी सीमामा अड्किएका उनीहरुलाई नेपाल छिराइएको हो ।
त्यहाँस्थित सशस्त्र प्रहरी बल स्रोतका अनुसार नेपाल प्रवेश गरेकामध्ये १६ जनालाई डिल्लीराज मावि, टाघनडुब्बाको क्वारेन्टाइनमा राखिएको छ । यसअगाडी त्यहाँ २२ जना व्यक्तिहरु राखिएका थिए तीमध्यै एक जना ३३ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाका अनुसार संक्रमित व्यक्ति झापा गाउँपालिकाकै हुन् । अन्य स्थानीय तहका व्यक्तिलाई सम्बन्धित स्थानीय तहले नै लगेका छन् र त्यहीँ क्वारेन्टाइनमा राखिएका छन् ।
संक्रमित व्यक्ति ४ जेठमा सीमामा आइपुगेका थिए । बम्बईबाट उनीसहित तीन जनाको टोली सीमामा आएका थिए । त्यहाँबाट उनीहरुलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो । तीनै जनाको कोरोना परीक्षण गरिए पनि एक जना मात्र कोरोना पोजेटिभ देखिएको हो ।
नाम नखुलाउने सर्तमा टाघनडुब्बाका एक स्थानिय व्यक्तिले केटीएम दैनिकलाई बताएअनुसार संक्रमित व्यक्तिलाई भेट्नको लागि परिवारका सदस्यहरु पनि क्वारेन्टाइन पुग्ने गरेका थिए । संक्रमित भेटिएपछि झापा गाउँपालिका शिल गर्ने सम्वन्धमा पालिकामा छलफल भैरहेको छ ।
यो समाचार झापाका सञ्चारकर्मी राम निरौलाको सहयोगमा तयार पारिएको हो ।