
पश्चिमरुकुम । पश्चिमरुकुमको चौरजहारी नगरपालिकाको क्वारेन्टिनमा बस्नेलाई दैनिक १७८ रुपैयाँ दिने निर्णय भएको छ ।
यसअघि क्वारेन्टिनमा बसेकालाई नगरपालिका आफैंले खाने व्यवस्था गरेकामा अब नगद दिने निर्णय गरेको हो ।
नगरपालिकाका अनुसार भारत तथा अन्य ठाउँबाट आउनेलाई १४वटै वडाका क्वारेन्टिनमा राखिनेछ । क्वारेन्टिन बसेका व्यक्तिले खानाका लागि हरेक क्वारेन्टिनमा पकाउने भाँडाको व्यवस्था गरिएको छ । आफूले खाने थाल, कचौरा, गिलास र ओढ्ने–ओछ्याउने कपडा सम्बन्धित व्यक्तिले ल्याउनुपर्ने नियम बनाइएको छ ।
क्वारेन्टिनमा नगरपालिकाले मास्क, स्यानिटाइजर, साबुन, खानेपानीका लागि ड्रम, फिल्टर र शौचालय सफाइका सामग्री प्रदान गरेको छ । दाउराको समस्या हुने वडामा ग्यास र चुलाको व्यवस्था पनि गरिने नगरप्रमुख विशाल शर्माले बताए । भत्ता दिने व्यवस्थासँगै अब बिहान र दिउँसोको नास्ता तथा साँझ–बिहानको खानाको व्यवस्था क्वारेन्टिनमा बस्नेले आफैँ गर्नुपर्ने छ ।
चौरजहारी नगरपालिकाबाट तीन हजार २४४ जना भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका छन् । उनीहरु घर फर्कन शुरु गरेको र शुक्रबार मात्र ३४ जना भित्रिएको नगरपालिकाले जनाएको छ । उनीहरुलाई सम्बन्धित वडामा पठाइएको छ । रासस