
शनिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ३२ जना कोरोना संक्रमितको सूचीमा चितवनका एक जना व्यक्ति पनि छन् ।
५२ वर्षिय उक्त व्यक्ति कोरोना संक्रमित चितवनका वृद्ध दम्पतीका छोरा भएको पुष्टि भएको छ ।
बिहीबार चितवन भरतपुर महानगरपालिका-६ गीतानगर केशरवागका ७४ वर्षका पुरुष र ७३ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको थियो ।
शुक्रबार भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुका ५२ वर्षका छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

उनै छोराले बुवालाई क्यान्सरको उपचार गराउन भारत लगेका थिए । उनमा बिहीबार गरिएको परीक्षणमा कोरोना नदेखिएको अस्पतालले जनाएको छ । शंका लागेर पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको पाइएको छ । उनको अवस्था सामान्य छ । उनी भरतपुर कोरोना अस्पतालमा छन् ।