
झापाको कचनकवल गाउँपालिका–१ स्थित सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् । शुक्रबार, सामान्य विवादमा चमारभिट्टास्थित सीमामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय नागरिकले आक्रमण गरेका हुन् ।
स्थानियबासी बोलेराम राजवंशीका अनुसार, भारतिय दशगजामा सशस्त्र प्रहरीका एक हवल्दारलाई भारतीय नागरिकले बाँसको लट्ठीले प्रहार गरेका थिए । लाठी प्रहारबाट उनको कानमा चोट लागेको छ । भारतीय नागरिकले आक्रमण गरेपछि सशस्त्रका हवल्दारले प्रतिकार गरेका थिए । त्यस क्रममा भारतीय नागरिकलाई पनि चोट लागेको छ ।
सशस्त्र प्रहरीका एसपी रमेशकुमार थक्सुका अनुसार, भारतको किसनगन्ज जिल्लाको जिलाबारी बस्तीका २५ वर्षीय युवकले दशगजा कटेर नेपालतर्फ गाईबस्तु बाँधेका थिए । नेपाली सुरक्षाकर्मीले नेपालतर्फ बस्तु नबाँध्न आग्रह गरेपछि विवाद भएको थियो । लगत्तै भारतीय बस्ती जिलाबारीबाट घरेलु हतियारसहित करिब एक सयको संख्यामा मानिसहरू नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न दशगजातर्फ आएका थिए ।
तर, नजिकै रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले उनीहरूलाई तितरबितर पारेका थिए ।
यसअघि भारतीय नागरिकद्वारा नेपाली सुरक्षाकर्मीमाथि चारपटक आक्रमण भइसकेको छ ।