नेपालीहरु बिश्वभर वीर गोर्खालीको रुपमा परिचित छन् । जस्तोसुकै परिस्तिथिमा पनि स्वाभिमान बेच्दैनौं भनेर पुर्खा देखि सुनि आएका छौं ।
अहिले नेपालले आफ्नो देशको नक्सा जारी गरेपछि अभिनेत्री मनीषा कोइरालाले व्यक्त गरेको प्रतिक्रियाले अहिले राष्ट्रियताको बहस तातेको छ । त्यसमा पनि मनीषाको प्रतिक्रियापछि भारतीय सञ्चार माध्यम निम्छरो र तल्लो स्तरको गालीगलौजमा उत्रेपछि उनको समर्थनमा सर्वसाधारणदेखि सर्जक कलाकारहरू खुलेर अगाडि आएका छन् ।
‘कला बेचेको हो, स्वाभिमान होइन’, मनीषाकै पदचापमा प्रतिक्रियाको सागर उर्लेको छ । ‘पेसा फेर्न सकिन्छ तर स्वाभिमान फेर्न र बेच्न सकिन्नँ’ उनको समर्थनमा ताली बजिरहेको छ ।
कोइरालाले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विट रिप्लाई गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् । उनले ट्विटमा लेखेकी छन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा राखेकोमा धन्यवाद । अब तीनवटै राष्ट्रहरूबीच शान्तिमय र सम्मानजनक वार्ताको प्रतीक्षामा छौं ।’
चीनलाई साथ दिएर भारतलाई गाली गरेको भन्दै मनीषामाथि भारतीय मिडिया खनिएका छन् । भारतीय एबीपी टेलिभिजनले ‘खाती भारतकी और गाती चीनकी’ भन्दै समाचार प्रसारण गरेको थियो । ‘मनीषाले जे जति नाम कमाएकी छन्, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्’, टेलिभिजन भन्छ । तर मनीषाले व्यक्त गरेको धारणले वास्तवमै तरंग ल्याएको छ ।
नेपालमा उनको समर्थनका सामग्री ट्रेन्डिङमा छन् । सामाजिक सञ्जाल ट्विटरको ट्रेन्डिङमा उनी लगातार एक नम्बरमा छिन् । ह्यास ट्याग ‘आई एम विथ मनीषा कोइराला’ ट्रेन्डिङ नम्बर एकमा छ ।
नायिका पूजा शर्माको अभिव्यक्ति छ, ‘मनीषा दिदीले भारतको नुन भिख मागेर खानु भएको होइन, आफ्नो कलाकारितामा उभिएर खानु भएको हो । दिदीको योगदानलाई लत्याउँदै उल्टै अपशब्द बोल्ने मिडियाप्रति टिठ लागेर आयो ।’ शर्माले कामको सिलसिलामा विश्वको जुनसुकै देशमा बसे पनि जब देश र आफ्नो जमिनको कुरा आउँछ, त्यतिबेला देशकै पक्षमा बोलिन्छ भन्दै लेखेकी छन्, ‘जन्मदिने आमालाई पराइ ठानेर आफ्नै आमाको अंग लुछ्ने पराइलाई आमा भन्न सकिँदैन ।’
गायिका इन्दिरा जोशी भन्छिन्, ‘आफ्नो अद्भुत अभिनय क्षमताका कारण मनीषाले बलिउडमा थुप्रै योगदान दिएकी छन् । कर पनि तिरेकी छन् । क्यान्सरसँग लडेकी एक बहादुर महिला धेरैका लागि उदाहरण हुन् । उनी सत्यको पक्षमा उभिएकी छन् ।’
यसै क्रममा नायक राजेश हमालले फेसबुकमा भिडियो सार्वजनिक गर्दै लेखेका छन्, ‘भारतको पछिल्लो गतिविधिले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग हो । भारतले सिमानाको समस्यालाई इतिहास, तथ्यांक र प्रमाणको आधार हेरेर कूटनीतिक तवरमा समस्या समाधान गर्नु आवश्यक छ । सिमानाको समस्याले गर्दा नेपाली जनतामा उठिरहेको आक्रोशलाई शान्त बनाउन भारतले सहयोगी भावका साथ कदम चाल्नु जरुरी छ ।’
‘जवाहरलाल नेहरूलाई वक्तव्य सच्याउन बाध्य पार्ने बीपी, सगरमाथा नेपालको हो भनी तिब्बत अनि चिनियाँ शासक थर्कमान पार्दै सगरमाथा नेपालको प्रमाणित गर्ने बीपी, आज बीपी त हामीमाझ हुनुहुन्न तर उहाँको रगत नेपालकी चेली मनीषा कोइरालाको एक ट्विटले भारतभरि खैलाबैला मच्चायो, जय नेपाल’, केही सर्वसाधारणका फेसबुक वाल यसरी भरिएका छन् ।
यही क्रममा गायिका सुशीला पाठक भन्छिन्, ‘याद रहोस्, कलाकार अनि कलाको कुनै भौगोलिक सिमाना हुदैन । देशको माया कसलाई पो लाग्दैन र अभिनेत्री मनीषा कोइरालाका शब्दप्रति सम्मान । जुनसुकै देशमा बसे पनि आत्मसम्मानमा आँच आउन नदिनु नै एउटा सच्चा नेपालीको पहिचान हो ।’
एउटा कलाकारको अभिव्यक्ति कति शक्तिशाली हुँदो रहेछ भन्ने उदाहरण पनि हो मनीषाको कदम । हास्य कलाकार किरण केसी भन्छन्, ‘बाँचिदिन सक्छु तिम्रो लागि, मरिदिन सक्दिनँ, नेपाली छोरी मनीषालाई सलाम छ, जय नेपाल आमा ।’
‘यो भारत एउटा रुञ्चे देश हो, भारतमै बस्ने जनताले ‘गोर्खाल्यान्ड’ मागे पनि रुन्छ । हामीले त के मागेका छौं र लिम्पियाधुराको आफ्नै भूमिमा धर्का कोरेका हौं, रुन थालिहाले गोदी मोदीका पत्रकारहरू । यदि हामीले हाम्रा सबै वीर, बहादुर सैनिक फिर्ता ले भनेर माग्यौ भने यसले रुन छोडेर सुक्साउन थाल्छ । यो आफ्ना छिमेकमा ‘महाभारत’ मच्चाइरहन मन पराउने देश हो, निर्देशक प्रकाश सायमीको विश्लेषण छ ।