
कैलालीमा आज तीनजनामा कोरोना संक्रमण देखिएको छ ।
कैलालीको जानकी गाउँपालिका १ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका तीनजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा इटहरीबाट वैशाख ३० गते आएका जानकी गाउँपालिका ७ जवलपुरका १९ वर्षीय युवक छन्। त्यस्तै वैशाख १ गते भारतको महाराष्ट्रबाट आएका जानकी गाउँपालिका ४ कञ्चनपुरका २६ वर्षीया पुरुष र वैशाख १ गते बाँकेको नेपालगञ्जबाट आएका जानकी गाउँपालिका ७ मोतिनगरका २१ वर्षीय पुरुष रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित पुष्टि भएको सरस्वती माविको क्वारेन्टाइनमा ४५ जनालाई राखेको छ ।
संक्रमित पुष्टि भएकालाई टीकापुर अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए । धनगढीस्थित प्रयोगशालामार्फत गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। योसँगै बैतडी र डडेल्धुराका दुईजना युवामा समेत कोरोना पुष्टि भएको छ।
यसअघि सुदूरपश्चिममा ५ जना कोरोना जितेर घर फर्किसकेका छन् । डडेल्धुरा र बैतडीमा कोरोना संक्रमित भेटिएसँगै ४० जिल्लामा कोरोना संक्रमण भइसकेको छ । तीमध्ये कुनै जिल्लाका सम्पूर्ण कोरोना संक्रमितहरु निको भएर घर गएका छन् ।
कुन जिल्लामा कति संक्रमित भए र कति निको भए जिल्लागत तालिका हेर्नको लागि यहाँ क्लिक गर्नुहोला