मैले आफ्नाे बिचारहरुमा राजनीतिक चेतना प्रस्तुत गरेको छु ती सबै नै “त्यो सधैं दुखिरहने मेरो देशको सिमानाको घाउ” लाई निको बनाइयोस भन्ने मा नै थियो र छ पनि ।
आज फेरि त्यही क्रुर बूट्ले फेरि कुल्चियो, त्यही कुल्चाइको पीडा मा मेरो चिच्याइ दोहोरिन बाध्य भो, मेरो पीडा भित्र बाट निस्कने आवाजले कहिं कतै कसै ले गरिखाएकाे खेती माथी धावा पो बोल्छ कि, कतै त्यस्ता चेतनामा बाँचेका मान्छेहरु लाई चोटै पो पुगि हाल्छ कि भन्ने डर लाग्छ ।
तर म आज यो सोचाइको निष्कर्षमा छु कि “मलाई जन्म दिने बाबू भन्दा मेरो अस्तित्व निर्माण गर्ने मेरो देश प्रती बढी समर्पित हुँदैछु भलै मेरो व्यक्तिगत सम्बन्धको बाबू वा सो सरहका पारिवारिक जीवन बिताइरहेका जो कोहि ले मन किन नदुखाउन । ”
मेरो राजनीतिक जन्म दाता काँग्रेस हो, मैले मेरो जन्म दाता प्रती कृतज्ञ हुनु मेरो उच्च संस्कार हो ।
तर म भित्रको अबोधतामानै जुटेको सम्बन्ध लाई मैले आफ्नो संस्कार संस्कृति र नैतिक दायरा भित्र रहेर जिम्मेवारी पूरा गर्दै आउँदा पनि म माथी अविभावक ले पूरा गरिदिनु पर्ने अविभावकत्व पूरा नगरिदिएकाे भान हुन्छ ।
पछि मेरा नजरमा त्यो अविभावक प्रती मैले प्रतिकृया दिनु सायद अनैतिक बन्ने छैन्न भन्नेमा ढुक्क भैसकेको छु ।
मैले र यो देशले कांग्रेसकाे शासन खाएकाे तीस वर्ष बितिसकेको छ र यो तीस वर्ष को अवधिमा देश भित्र जति चुनाव भएको छ हरेक चुनावमा मेरो मत कांग्रेसलाई गएको छ ।
त्यसैले त ऊ सँग मैले मेरो भाग खोज्न पर्छ र मेरो देश खोज्ने अधिकार छ । त्यसैले गास बाँस र कपास भन्दा पनि म मेराे देश नै माग्छु । मेरो देश जे थियो त्यो मलाई स्विकार्य थियो अर्थात राष्ट्र निर्माणको अवधिमा जे जस्ता लडाइँहरु हाम्रा पुर्खाले लडे र भौतिक लडाइँको अन्त्य सँगै परिणाममा नेपालीले जे पाएका थिए आज त्यही देश छ त ?
कांग्रेसले करिब ७० वर्ष अघि आफुलाई राजनीतिक अस्तित्वमा ल्यायो । लामो समय यो देशको राज्यसत्ता को बिद्रोही को रुपमा रह्यो र आज भन्नू पर्दा लामै समय राज्यसत्ताको प्रमुख र सहयोगी को रुपमा पनि रह्यो । तर यो बिचको राजनीति मा काँग्रेस लाइ निक्कै गम्भीर आरोपहरु लागेका छन ।
त्यस मध्येमा देश बेची खाएको आरोप गम्भीर रुपमा लगाइयो, त्यसको प्रतिवाद कुन ढंगले गरिनु पर्थ्यो र गरियो ?अनि त्यसको प्रभाव के भइरहेको छ अनि म जस्ता भोटर्सका रुपमा मात्र रहेका माथी बर्साईने अनेक प्रश्न को जवाफ कस्ले दिने ? के दिएका छौ हामिलाई जस्ले त्यस्ता गम्भीर प्रश्नहरुको प्रतिवाद गरेर गाउँका कुनाकाप्चामा टिक्ने आधार होस ? अहिलेको समय त्यस्तो समय पटक्कै होइन जहाँ धेरै लुकाएर थोरै देखाउन सकिन्छ, त्यो समय पनि होइन कि थोरै गरेर धेरै देखाउन सकिन्छ अनि गरिएका केही को मूल्यांकन नरहोस र नगरिएका कामको प्रतिफल पनि लिन सकियोस । त्यसैले म भौतिक दुनियाको एक प्रतिनिधि हुँ, मैले जे पाएँ त्यो भन्छु र पाउनु पर्ने केही नपाउँदा किन को जवाफ मलाई चाहियो ।
साना-साना लाई समेटेर ठूलो बनाएको तर ठुला-ठुला बिचमा रहँदा सानो हुन पुगेको मेरो देशको टुहुरो गौरव गाथा मा हामी बाँच्न अभ्यस्त थियौं र प्रयासरत रहिरह्यौं । जो कोहिले आफुलाइ त्यहिं उभ्याउँछ जहाँ रहेर आफुलाइ स्वदेशी भन्न पाइयोस, नेपाली भन्न पाइयोस । होइन भने आज सम्म मैले गाउने गौरवगाथा पहरामा झुण्डिएको अँगुर देखेर मुख मिठ्याइ-मिठ्याइ उफ्रने स्यालले छुनै नसके पछि “त्यो जाबो अमिलो अँगुर” भन्दै छोड्न विवश भए झैं भइदिनु पर्ने ? चेतना होस, खबरदार मलाई मेरो प्रश्न को उचित जवाफ चाहियो , होइन भने राजनीतिक कोर्ष बदलिन सक्छ तिमिहरु जस्ता नामर्द र लाछीहरुलाइ नेता किन मान्ने ?
मकैको बोट बाट काँक्राको आस गर्न सकिँदैन । नेपाल देव भुमी हो, जबर्जस्त आधुनिकताको नाममा सँस्कार, संस्कृति, परम्परा र धर्म मास्न खोज्दा ती परम्परा बाट अस्तित्वमा आएका मानव संस्कृती कमजोर हुन्छ, संस्कृति कमजोर हुँदा नागरिक कमजोर हुन्छन र नागरिक कमजोर हुँदा राष्ट्र कमजोर हुन्छ अनि राष्ट्र कमजोर हुँदा अस्तित्व गुम्ने खतरा सधैं रहन्छ ।
म लज्जा बोधको पोखरीमा चुर्लुम्म डुबिरहेको त्यो भोटर्स हुँ जसले अँगालेको राजनीतिक चिन्तन को वास्तवमै प्रतिस्पर्धी नै थिएन यो देशमा । मेरा महान नेता वि.पि. ले प्रतिपादन गरेको समाज सम्पूर्ण रुपमा नेपाली माटो का कणकण को भावना समेटेर तयार गरेका थिए जसले गर्दा त्यो मर्म बुझेर देशमा राज्यसत्ता चलाउनु पर्छ भन्ने नेतृत्व रहुंञ्जेल जनमन सहजै जितिरहेको थियो तर जब एउटा जीवन्त पार्टी बाँचिरहन त्यागी र लोभ लालच बिहिन नेतृत्व हुनुपर्छ भन्ने भावना बोक्ने नेताको अन्त्य भयो र आजका लोभी-पापी र अवसरवादी नेतृत्व आयो मेरो त्यो आदर्शको केन्द्र नराम्ररी छिया छिया पारियो । मेरो देश र म मा धेरै पिडादायी घाउ लगाएको छ अहिलेको लोभीपापी र अदुरदर्शी नेतृत्वले । निक्कै जँड्याहा र बहुलट्ठी निर्णयहरु गरेर ती आदर्शमयी भावना माथी निर्मम प्रहार गरेको छ । मैले सोचेको थिएँ मेरा नेता निक्कै विद्वान छन, विवेकशिल छन ।
त्यो विद्वताले देश र समाज विकास मा हामिलाइ निर्देशित गर्छ र त्यो विवेकशिलता ले म र म जस्ता इमान को जीवन बाँच्न चाहनेहरुको व्यक्तिगत जीवन का हरेक पाटामा होष्टेमा हैंसे मिल्छ भन्ने थियो । यो पटक्कै नभएकै हो । यहाँ मैले प्रस्तुत गरेको पात्र “म” एउटाको कुरा होइन बरु म जस्ता हज्जारौं- लाखौंको कुरा हो तर सूक्ष्म शक्तिको रुपमा रहने म जस्ता लाखौंको शक्ति वेवास्ता गर्दा वा नचिन्दा दुई-चार जना अवसरवादी हरुले घेरा हालेर चिच्याएको लाई नै जन आवाज मान्न पुग्दा देशको गति यहाँ आएर ठप्प भएको छ ।
अब निष्कर्ष तिर लाग्दैछु कि देश लाई हामीले धेरै परिक्षणमा मात्र राखिरहयौं । यो बिचमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै परिक्षण भयो तर सबै असफल सावित भए । व्यवस्था आफैंमा कुनै नराम्रो हुंदैहुन्न तर यसका सञ्चालक हरु असक्षम हुँदा व्यवस्था बिगृन पुग्यो, व्यवस्था बिग्रँदा देश र जनताले दुख पाए । यो हुनुमा अर्को एउटा ध्रुव सत्य कुरा के पनि हो भने धान रोप्न हिल्याएको खेतमा तोरीको बीउ छरेर अन्न उत्पादनको सन्तुष्टि मिल्दैन, साँढे लाई खोले खुवाएर दूध उत्पादन हुँदैन,
मकैको बोट बाट काँक्राको आस गर्न सकिँदैन । नेपाल देव भुमी हो, जबर्जस्त आधुनिकताको नाममा सँस्कार, संस्कृति, परम्परा र धर्म मास्न खोज्दा ती परम्परा बाट अस्तित्वमा आएका मानव संस्कृती कमजोर हुन्छ, संस्कृति कमजोर हुँदा नागरिक कमजोर हुन्छन र नागरिक कमजोर हुँदा राष्ट्र कमजोर हुन्छ अनि राष्ट्र कमजोर हुँदा अस्तित्व गुम्ने खतरा सधैं रहन्छ ।
त्यसैले बुध्दिमत्ता त्यो मात्र हुन्छ जसले आफ्नो व्यक्तिगत आकाँक्षा भन्दा पहिला देश बाँच्नु पर्छ भन्ने मानोस । मानिसका व्यक्तिगत चाहना असिमित हुन्छन, त्यो असिमित आकांक्षा मध्ये बाट केही त्यागी दिंदा बाँकी धेरै आकांक्षा पूरा हुन सक्छ तर सबै पूरा हुनु पर्छ भन्दा धेरै गुम्ने खतरा रहि रहन्छ । बेलै चेतना को घुम्टो उघारौं । यो नै आधुनिकता भित्रको सवल नेतृत्व ठहरिनेछ ।