
प्रदेश नं ५ प्रदेशसभाका सदस्यको आज कोरोना परीक्षण गरिएको छ ।
आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिए ।
आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर परीक्षण गरिने बताइएको छ ।
शुक्रबारदेखि प्रदेशसभाको छैटौँ अधिवेशन शुरु हुने भएकाले सुरक्षा सतर्कताका लागि कोरोना परीक्षण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको नियमावली बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले शुक्रबार अपराह्न १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका हुन् ।
प्रदेश ५ मा यो समाचार तयार पार्दासम्म १९६ कोरोना संक्रमित भेटिएका छन् भने १ जनाले ज्यान गुमाएका छन् ।
सबैभन्दा बढी बाँकेमा ९९ जना, कपिलवस्तुमा ५९ जना रुपन्देहीमा २९ जना कैलालीमा ४ जना दाङमा ४ जना र गुल्मिमा १ जना संक्रमित भेटिएका छन् । गुल्मिमा भेटिएका संक्रमितको ज्यान गइसकेको छ ।