कतारमा कोरोना सङ्क्रमित एक नेपालीको ज्यान गएको छ ।
धनुषाका एक युवकको कोरोनाको कारण ज्यान गएको र अरु सङ्क्रमितको कतार सरकारले नै उपचार गरिरहेको कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले जानकारी दिए ।
कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढेको छ । सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक भन्ने कुरा आए पनि कतारले राष्ट्रियता नखुलाउँदा सङ्क्रमित नेपालीको सङ्ख्या कति छ भनेर दूतावासलाई जानकारी छैन।
कतारले सुरुका दिनमा कोरोनाको कारण मृत्यु हुनेको शव व्यवस्थापन २४ घण्टाभित्र गरिसक्ने भनेको थियो । तर कोरोनाका ज्यान गुमाएका धनुषाका युवकको शव भने अहिलेसम्म कतारले सुरक्षित साथ राखिदिएको छ ।
अन्त्येष्टिका लागि परिवारसँग अनुमति लिनको लागि दूतावासले वैदेशिक रोजगार बोर्डलाई भनेको छ । परिवारले अनुमति पत्र पठाएपछि कतारमा शव व्यवस्थापन हुन्छ ।
कतारमा यो दुई महिनाको अवधिमा ज्यान गुमाएका मध्ये ४० जनाको शव छ । एक जना महिलाको भने श्रीमान उतै भएकाले सदगत भैसकेको छ । ४० जनामध्ये ६ जनाका परिवारले कतारमा सदगत गर्न अनुमति दिएको राजदूत भारद्वाजले जानकारी दिनुभयो ।