चौतर्फी कोरोना सन्त्रासबीच बागलुङमा नौ जनाले आत्महत्या गरेका छन् ।
लकडाउन शुरु भएदेखि हालसम्म जिल्ला प्रहरी कार्यालयमा २१ वटा मुद्दा परेका छन् । आत्महत्या, आत्महत्या दुरुत्साहन, अभद्र व्यवहारलगायतका घटना यो अवधिमा भएका पाइएको छ ।
सबैभन्दा धेरै झुण्डिएर आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए । उनका अनुसार, जिल्लामा करिब दुई महिनाको अवधिमा आठजनाले झुण्डिएर आत्महत्या गरेको मुद्दा छन् । यसबाहेक विषादी सेवन गरी आत्महत्या एक र आत्महत्या दुरुत्साहनको एक मुद्दा छ ।
प्रायजसो आत्महत्या गर्ने नागरिक अभाव र कुनै घटनाले गर्दा आत्महत्या गर्ने गरेका भन्दै अवैध सम्बन्ध, सम्बन्ध बिच्छेद पनि आत्महत्याका मुख्य कारण भएका हुनसक्ने प्रहरीको बुझाइ छ ।
यस्ता खालका सामाजिक आपराधिक घटना न्यूनीकरण गर्नका निम्ति जनचेतना अझै पनि आवश्यक रहेको प्रहरी निरीक्षक केसी बताउनुहुन्छ ।