
झापाको बिर्तामोड नगर क्षेत्र भोली (बिहीवार) राति १२ बजेदेखि पूर्ण रुपमा बन्द गरिने भएको छ ।
आज सम्पन्न बिर्तामोड नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले बिहीवार राती १२ बजेदेखि बिर्तामोड क्षेत्र शिल गर्ने निर्णय गरेको हो ।
बिर्तामोड प्रवेश गर्ने सबै नाका बन्द गर्ने निर्णय भएको झापामा रहेका पत्रकार नरेन्द्र ढकालले केटीएम दैनिकलाई जानकारी दिए । यो बन्द कहिलेसम्म हो भन्ने प्रश्नमा ढकाल भन्छन् “अर्को सूचना जारी नभएसम्मको लागि भोली (बिहिबार) राति १२ बजेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।” उनका अनुसार औषधि र कृषिजन्य वस्तुको व्यवसाय खुला गरिनेछ भने बाँकी सबै किसिमका व्यवसाय बन्द हुनेछन् ।
बिर्तामोड प्रवेश गर्ने चारैतिरका नाका बन्द गरेपछि यस क्षेत्रमा कोरोना भाइरसको संक्रमण जोखिम कम हुने आँकलन गरिएको छ । यस्तै, नेपाल–भारत सीमामा अलपत्र २ सय नेपालीलाई आज (बुधबार) राती बिर्तामोड स्थित कन्चनजंगा नर्सिङ कलेजको क्वारेन्टाइनमा ल्याउने तयारी गरेको छ ।
झापाको बिर्तामोड क्षेत्रमा अहिलेसम्म कोरोना भाइरसको कुनैपनि संक्रमित फेला परेका छैनन् । तर झापा जिल्लामा भने १७ जना कोरोना संक्रमित फेला परेका छन् । आज धरानमा गरिएको परिक्षणमा पोजेटिभ नतिजा आएको ९ जनाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक भने गरिसकेको छैन ।
झापामा अहिलेसम्म २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।
यसमा प्रयोग गरिएको तस्विर मदन सापकोटाले खिचेका हुन् ।