
काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
त्यस मध्ये ७ महिला र १८ पुरुष रहेका छन् । संक्रमित मध्ये ३ वर्षका बालक पनि छन् ।
जिल्लागत हेर्ने हो भने बाँकेमा ७ जना, धनकुटामा ५ जना र कपिलवस्तुमा १३ जना संक्रमित भेटिएका हुन् ।
नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमित हुनेको संख्या ४२७ पुगेको छ । जसमा ३५८ जना पुरुष छन् भने ६९ जना महिला छन् ।
प्रदेश १ मा संक्रमितको संख्या ५९ जना, प्रदेश २ मा १३६ जना बाग्मति प्रदेशमा २६ जना गण्डकी प्रदेशमा ४ जना प्रदेश ५ मा १९६ जना कर्णाली प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । अहिलेसम्म ३८ जिल्लामा संक्रमण फैलिएको छ ।
८ जना संक्रमितहरु निको भएर फर्केका छन् अहिलेसम्म निको हुनेको संख्या ४५ पुगेको छ ।