
भारतीय सीमामा अलपत्र अवस्थामा रहेका नेपालीहरु मूलनाकाबाट आउन नपाएपछि आसपासबाट लुकीछिपी भित्रिरहेका छन् । नेपाल आइसकेपछि भने उनीहरुलाई स्थानीय सरकार, प्रशासन, प्रहरी र स्वास्थ्यकर्मीले नजिकको होल्डिङ सेन्टर र क्वारेन्टाइनमा पुर्याउने गरेको छ ।
झापाको केचना, टाघनडुब्बा र काँकरभिट्टाबाट नेपालीहरु आउन सुरु गरिसकेका छन् । लुकीछिपी आउनुपर्ने बाध्यता सिर्जना हुनुभन्दा वैधानिक रुपमा नेपाल ल्याइनु सुरक्षित हुने जानकारहरु बताउँछन् ।
तीन दिन यता कचनकबल गाउँपालिका, मेचीनगर नगरपालिका र झापा गाउँपालिकाबाट ३०० भन्दा बढी नेपालीहरु आइसकेका छन् । उनीहरुलाई स्थानीय क्वारेन्टाइन र होल्डिङ सेन्टरमा सुरक्षित साथ राखिएको छ ।
मङ्गलवार बेलुका र राति मेचीनगरको काँकरभिट्टा आसपासबाट बढीमा डेढसय जना नेपाल प्रवेश गरे । भारतीय सीमा क्षेत्रमा अलपत्र नेपालीहरुको सङ्ख्या बढिरहेको अवस्थामा काँकरभिट्टा नाकाबाट वैधानिक रुपमा उनीहरुलाई नेपाल ल्याउने काम हुन सकेको छैन ।
कचनकबल र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट पनि डेढ सयको हाराहारीमा नेपालीहरु भित्रिइसकेका छन् । जसमध्ये केचनाबाट भित्रिएका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । झापा गाउँपालिकाबाट मङ्गलवार ४७ जना भित्रिएको बताइएको छ ।
झापासँग सीमा जोडिएको भारतको पश्चिम बङ्गाल र विहारका दशगजासम्म एक हजारभन्दा बढी नेपालीहरु सम्पर्कमा छन् । वैधानिक ढङ्गले नाकाबाट ल्याउने प्रबन्ध नभएपछि उनीहरु राति र विहान दशगजा पार गरेर नेपाली भूमिमा आउन थालेका हुन् ।
भारतीय सीमा क्षेत्रमा आइपुगेका नेपालीहरुमध्ये धेरैजसो लकडाउनले भारतमा रोजगारी बन्द भएपछि घर पर्कनेहरु छन् । केही विद्यार्थी, तीर्थयात्री र विरामीहरु समेत छन् । उनीहरुको भारतीय सीमाको बसाई ज्यादै कष्टकर र कोरोना सङ्क्रमणको जोखिमयुक्त छ ।
सीमासम्म आइपुगेका नेपालीहरुलाई वैधानिक रुपमा ल्याएर क्वारेन्टाइनमा राख्न र उनीहरुको स्वास्थ्य परीक्षणको सही व्यवस्थापन हुन सकेन भने कोरोना फैलिने उच्च सम्भावना छ । लुकीछिपी आउँदा कहाँ बस्ने र कहाँ जाने टुङ्गो नहुने भएकोले जोखिम बढी हुन्छ ।
पहिलो खेपमा कचनकबलमा भारतबाट भित्रिएका ३३ जनाको पीसीआर टेस्ट गरिएको थियो । जसमध्ये एउटै समूहमा बसेका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपाल भित्रिएपछि व्यवस्थित रुपमा क्वारेन्टाइनमा राखिएको कारण उनीहरुबाट आफ्नो घरपरिवार र समुदायमा सङ्क्रमण फैलिन पाएन ।