काठमाडौं । सांसदहरुले ठूला होटललाई क्वारेन्टाइन र आइसोलेसन बनाउन माग गरेका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् ।
बैठकको शून्य समयमा बोल्दै प्रतिपक्षी कांग्रेस सांसद प्रकाश पन्थले सुविधा सम्पन्न होटलहरूलाई आइसोलेसन र क्वारेन्टाइन बनाउने माग गरेका हुन् । उनले भने, ‘सुविधा सम्पन्न होटलहरू छन्, तिनीहरूलाई आइसोलेसन र क्वारेन्टाइन बनाऔं ।’ उनले बिरामीको उपचार र व्यवस्थापनमा अवकासप्राप्त कर्मचारीहरूलाई पनि लगाउनुपर्ने माग गरेका छन् ।
सांसद पन्थीले ८(१० लाख नेपाली विदेशमा समस्यामा परेको भन्दै उनले उद्दार गर्न सरकार अगाडि बढ्नुपर्ने माग राखे । उनले भने, ‘विदेशमा रहेका नागरिकलाई जरुरी र सामान्य गरी प्राथमिकताका आधारमा उद्धार गर्न आवश्यक छ । नेपालमा निजीसमेत दर्जनौं विमान पनि छन् । यसैगरी सिमानामा अड्केकाहरूलाई बसलगायत निजी क्षेत्रसँगको सहकार्यमा उद्धार गरौं । सरकारले आफ्नो लगानी गर्ने यतातिर हो ।’ उनले समस्यामा परेका जनतालाई राज्य अभिभावक छ भन्ने प्रत्याभूति गराउन सुझाव दिए ।
नेकपा सांसद नन्दा चपाईंले कोरोना संक्रमित बिरामी र दीर्घरोगी तथा गर्भवती महिलाको चेक एउटै ठाउँमा भइरहेकाले सरकार सचेत बन्नुपर्ने बताइन् । कोरोना संक्रमितको उपचारका लागि फरक र अन्य बिरामीहरूका लागि फरक अस्पताल व्यवस्था गर्न उनले आग्रह गरिन् । उनले भनिन्, ‘सुविधायुक्त ठाउँमा कोरोना भाइरस र गर्भवती महिलालाई जाँच गर्ने अस्पताल फरक होला तर सबै प्रदेशमा नभएको कारण अन्य प्रदेशमा पनि अन्य प्रयोजनाका लागि बनाइएको भवनमा उपचार गर्ने व्यवस्था मिलाओस् भन्न चाहन्छु ।’
नेकपाकै सांसद मायाप्रसाद शर्माले द्वन्दकालीन समयमा पदमुक्त गरिएका शिक्षहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । शान्ति प्रक्रियासँग जोडिएको विषय भएकाले सरकारले पुनर्वहाली वा क्षतिपूर्तिको लागि बजेट छुट्याउनुपर्ने उनको माग थियो ।