
बुधबार विहान साढे १० बजे तिर एउटा खबर आगोको मुस्लोझै फैलियो । खबर थियो बुटबलमा उपचाररथ गुल्मिका कोरोना संक्रमितको ज्यान गयो ।
प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले को भनाइमा आधार भएर समाचार प्रकाशित भएपछि हामीले बुटलबलको क्रिमसन अस्पतालको सूचना अधिकारी चन्द्रकान्त बस्याललाई सम्पर्क गर्यौं ।
हामीसँगको टेलिफोन सम्पर्कमा बस्यालले भने, “उहाँको निधन भएको छैन । मन्त्रिज्यूलाई कसैले गलत सूचना दियो । त्यही सूचना मन्त्रिज्यूले सञ्चारमाध्यमलाई दिनुभयो ।”
हामीसँग ११ बजेर ५ मिनेटमा टेलिफोनमा कुरा गर्दा बस्यालले उनको अवस्थामा खासै सुधार नआएको बताए । उनी भन्छन्, “केही भएको खण्डमा अस्पताले प्रेस विज्ञप्ती निकालेर सार्वजनिक गर्छ । हल्लाको पछि नलागौं ।”
सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।
उनी गुल्मिको मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् । जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।
क्रिमसन अस्पताल आज (बुधबार) दिँउसो १२ बजे एक बिज्ञप्ती जारी गर्दै भनेको छ “सामाजिक सञ्जाल तथा केही मिडियामा नीज विरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरंजित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको वातावरण सृर्जना भएकोले यस सम्वन्धमा गलत समाचारको पछि नलाग्नुहुन सम्पूर्ण आमा बाबु दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दै निज बिरामी यस अस्पतालको ICU कक्षमा Ventilator Support मा उपचार भइरहेको र नीजको अवस्था गम्भिर रहेको जानकारी गराउँदछौं ।