
प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार कुनै विदेशी राजदूतले भूमिका खेलेर टिक्ने र ढल्ने कल्पना पनि गर्न नहुने बताएका छन् । आज प्रतिनिधि सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकार नेपाली जनताको आदेशमा बनेकाले कसैले हटाउन नसक्ने बताएका हुन् ।
उनले सरकार ढलोस् भनेर कसैले इच्छा गर्न पाइने तर त्यस्तो इच्छा पूरा नहुने उल्लेख गरे । चुनावमा जनताले अरूलाई ‘इनअफ’ भनेका कारण अहिलेको स्थायी सरकार बनेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले भारतले अतिक्रमित लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र जसरी पनि फिर्ता ल्याउने प्रतिबद्धता पनि जनाए ।
उनले कुटनीतिक पहलमार्फत अतिक्रमित भूमी फिर्ता ल्याएरै छोड्ने बताएका हुन । विगतका शासकले पहल नगरेपनि अब लिम्पियाधुरा, लिपुलेक, कालापानी ओझेलमा पर्न नदिने उनको भनाइ छ । भारतले बेकारको विवाद निकालेको भन्दै उनले कूटनीतिक वार्ताको माध्यमबाट वार्ता गरी भूमी फिर्ता ल्याउने उनको भनाइ छ ।
उनले कुनै चलाखीको हिसाबले तथाकथित राष्ट्रवाद देखाउनका लागि नक्सा पास नगरिएको भन्दै संबिधानको अनुसुचिमा भएको नक्सा संबिधान संसोधनमाफर्त संसोधन गरिने बताए । संसदले पारित गरेका दिन, देशमा दिपावली हुने उनको भनाइ थियो । दुई शक्तिशाली मुलुक बीचमा रहेको देशले तथाकथित राष्ट्रवादको बाटो अँगाल्न नहुने पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।
अघिल्लो सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता अनुमोदन नहुँदा कूटनीतिक विश्वसनीयतमाथि गम्भीर प्रश्न खडा हुने बताए । एमसीसी सभामुखको टेबुलमा आइसकेकाले छलफल गरी टुंगो लगाउनुपर्ने उनको भनाइ छ ।
उनले एमसीसी पास नभए पनि सरकारले ट्रान्समिसन लाइन बनाएरै छाड्ने दृढता व्यक्त गरे । सरकारले जनतासँग कुनै छलछामको व्यवहार नदेखाई यथार्थ चित्रण देखाउने गरी सरकारको नीति तथा कार्यक्रम ल्याएको दावी उनको छ ।
कोरोनापछिको राहत प्याकेज देखाउने कुरा नभएको भन्दै त्यो व्यहारमा लागु हुनेगरी ल्याउने प्रतिबद्धता पनि उनले जनाए । प्याकेज घोषणा गर्दा राज्यले धान्न र स्रोतले भ्याउनेसम्म रोजगारीका अवसर उपलव्ध गराउने र उसले आम्दानीबाट जीवन चलाउन र देशको अर्थतन्त्र कमजोर हुन नदिनेतर्फ ध्यान सरकारले दिने उनले बताए ।