
इलाममा गएराति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका ६ शान्तिडाँडाकी शुस्मा राईले बुबा फुलबहादुर राइको हत्या गरेकी हुन् ।
साविक शान्तिडाँडा २ गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी शुस्माबीच झगडा भइरहने गरेको स्थानीय बासीको भनाई उदृद गर्दै इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकिशोर शाहले जानकारी दिए ।
रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको इन्सपेक्टर शाहले बताए । उनका अनुसार घरमा जेठी छोरी सुस्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राती खाना खाइसकेपछि उनीहरूबीच झगडा भएको थियो ।
फुलबहादुरको टाउकोमा चोट देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ । ‘गहिरो चोट नदेखिएका कारण धारिलो हत्यार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ,’ इन्सपेक्टर शाहले भन्नुभयो ।
कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र हिजो दिउँसो पनि झगडा भएपछि उनीहरू गाउँमा सुत्न गएको बताइएको छ ।
घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छोरी सुस्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।