
झापाका एक जना कोरोना संक्रमित सोमबार निको भएर घर फर्किएका छन् ।
कोशी अस्पताल विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उपचाररत दमक नगरापालिका ३ बस्ने ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज भएका हुन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो ।
मङ्ग्रातीलाई १२ वैशाखमा भर्ना गरिएको थियो । उनको छोरा गत फाल्गुन ३० गते कतारबाट आएका थिए । यी व्यक्तिलाई कसरी कोरोना संक्रमण भएको हो भन्ने प्रश्नको उत्तर अहिलेसम्म भेटिएको छैन ।
पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।
झापाका तीन जना कोरोना संक्रमति मध्ये दुई जना निको भइसकेका छन् । सोमबार देखापरेका कचनकवलका कोरोना संक्रमित युवकलाई उपचारका लागि विराटनगर लगिएको छ ।
नेपालमा कोरोना संक्रमणको उपचारपछि निको हुनेको संख्या ३७ पुगेको छ भने संक्रमितको संख्या ३७५ पुगेको छ ।
२ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।