
बंगालको खाडीबाट अम्पुन नामको शक्तिशाली आँधीको असर नेपालमा पनि देखिने भएको छ ।
दक्षिण बङ्गालको खाडीको मध्य भागबाट अघि बढेको आँधीको असर असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आँधी शक्तिशाली हुने क्रममा आजबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने महाशाखाले जनाएको छ । यसले भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पारेर वर्षा गराउने छ ।
पश्चिम भूभागमा भने तुलनात्मक रुपममा कम वर्षा हुनेछ। दुई/तीन दिनसम्म देशैभरि बदली भई केही स्थानमा भारी वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातका साथै एक/दुई स्थानमा भारी हिमपातसमेत हुने सम्भावना महाशाखाले औल्याएको छ ।
अम्पुनले नेपालमा मनसुन भित्राउने आवश्यक वातावरण बनाउने छ। यो सँगै आउने हावाहुरी असिनापानीले जनजीवनमा थप असर गर्न सक्ने भएकाले सतर्क रहन भनिएको छ । पूर्वी पहाडी भेग हुँदै आउने भएकाले विशेषगरी पूर्वी तथा मध्य पहाडी भेगका बासिन्दाले बढी सचेत रहनुपर्ने सुझाव मौसमविद्को छ।
भारतीय मौसम विभागका अनुसार ‘अम्फान’ नाम दिइएको यस चक्रवातका कारण १९ मे देखि आँधी र भारी वर्षा हुने छ । यो चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै उत्तरपूर्वतिर सर्ने भारतिय मौसम विज्ञान विभागले जनाएको छ । यस चक्रवातले सबै भन्दा बढी भारतको उडिसा र बंगलादेशमा बढी क्षति गर्ने छ । नेपालको पूर्वी क्षेत्रमा चक्रवातको बढी असर पर्ने छ ।
उक्त चक्रवात अहिले १३ किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर सरिरहेको छ। मे १९ देखि चार दिन २१ मे सम्म चक्रवातले प्रभाव पार्ने नेपालको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।