
काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरासहित यसअघि छुटेका भू–भाग समेटेर नयाँ नक्सा जारी गरेको छ ।
भूमि व्यवस्था, सहकारी तगा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पेस गरेको नयाँ नक्सा सोमबार मन्त्रिपरिषद् बैठकले पारित, स्वीकृत गरेको हो ।
नयाँ नक्सा स्वीकृत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भूमि भएकाले नडराउन र उत्तेजनामा पनि नआउन आग्रह गरेका थिए ।
“ऐतिहासिक तथ्य, प्रमाण, दस्तावेज सबैकुराले यो क्षेत्र नेपालकै हो भन्छ । लिम्पियाधुरा कालीनदीको उद्गम हो भन्नेमा द्विविधा मान्नुपर्दैन । यो हाम्रो पहिलेदेखिकै दाबी हो,” प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा भनेको कुरा एक मन्त्रीले बताए, “सन् १८१६ को सुगौली सन्धि र त्यसयताका प्रमाणले पनि त्यही भन्छ ।”
सबै प्रकारका कूटनीतिक पहल, प्रयत्नबाट कालापानीमा बसेका भारतीय फौज हटाएरै छाड्ने बताएका थिए । नेपाली भूमिमा खनेको बाटो रोक्का गरेरै छाड्ने उनको अठोट थियो ।
“संसद्मा राष्ट्रपतिले नीति तथा कार्यक्रम जारी गर्दा हामीले छुटेका भू–भाग समेटेर नक्सा जारी गर्ने भनेका हौं । त्यही आधारमा नक्सा जारी गर्यौं । सबै प्रकारको कूटनीतिक पहल, प्रयत्न अगाडि बढाउनुपर्छ । डराउनु पर्ने पनि छैन । उत्तेजनामा आउनुपर्ने पनि छैन । सम्पूर्ण पहल हुनेछ,” प्रधानमन्त्रीको भनाइ थियो ।