
सोमबार कोभिड–१९ पुष्टि भएका धनुषाका संक्रमित काठमाडौंमै रहेको खुलेको हो ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका– ४ का २८ वर्षीय संक्रमित काठमाण्डुको त्रिपुरेश्वरस्थित एक निर्माण कम्पनीमा कार्यरत थिए ।
सोमबार धनुषामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका व्यक्ति पेशाले निर्माण कम्पनीमा सवारी चालक रहेको खुलेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोष हरि निरौलाले २८ वर्षीय ती व्यक्ति धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अरेरबाका बासिन्दा भएको बताए।
‘आज भेटिएका संक्रमितको स्थायी घर धनुषा भए पनि उनी लगभग २१/२२ दिनदेखि काठमाडौंमै बसिरहेका छन्’, प्रजिअ निरौलाले भने।
उनले भने,‘उनले कुनै कन्स्ट्रक्सनको गाडी चलाउँदै आएका छन्, पेशाले चालक भएकाले धेरै ठाउँमा गएको हुन सक्छ, संक्रमितले आफू पूर्व-पश्चिमका धेरै स्थानमा गएको भन्ने बताएका छन्, उनको बारेमा थप जानकारी लिँदैछौं।’
उनका अनुसार संक्रमितलाई अहिले काठमाडौंको अस्पतालमा भर्ना गर्न लागिएको छ।
त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नमुना संकलनका क्रममा संक्रमितले स्थायी ठेगाना धनुषा उल्लेख गरेका कारण स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उनी धनुषाका रहेको भनिएको हो ।