
कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय २५ जनाको जाँच गर्दा १३ सय ६५ नयाँ संक्रमित फेला परेका हुन् ।
यससँगै कतारमा संक्रमितको संख्या ३३ हजार ९ सय ६९ पुगेको छ ।
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४ हजार ८ सय ९९ जना निको भएर घर फर्किएका छन् । आज मात्रै ५ सय २९ जना संक्रमित निको भएर फर्केका हुन् ।
२९ हजार ५५ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म १ लाख ६१ हजार ६ सय ९५ जनाको कोरोना जाँच भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।
कतारमा कोरोना संक्रमित मध्ये १ हजार ४ सय ३६ जनालाई अस्पतालमा राखेर उपचार भईरहेको छ भने पछिल्लो २४ घण्टामा २ सय २३ जना अस्पताल भर्ना भएका छन । त्यस्तै आइसियूमा राखेर १ सय ७२ जनाको उपचार भईरहेको मध्ये पछिल्लो २४ घण्टामा १९ जना थपिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जानकारी दिएको छ । कतारमा कोरोना भाइरस संक्रमणका कारण १५ जनाको मृत्यु भईसकेको छ ।
कोरोना संक्रमितको संख्या थपिदै जाँदा पोजेटिभ देखिएकाहरुलाई समेत अस्पताल लगिएको छैन । उनीहरु कोठामै बस्न बाध्य भएका छन् । संक्रमित मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।
त्यस्तै कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्नका लागि कतार सरकारले तोकेको स्वास्थ्य केन्द्रमा जान नेपाली राजदूतावास दोहा कतारले आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै दूतावासले कोभिड–१९ परीक्षणका लागि मुआइथर स्वास्थ्य केन्द्र, रावदत अल खालिल स्वास्थ्य केन्द्र, अम सलाल स्वास्थ्य केन्द्र र अल घराफा स्वास्थ्य केन्द्रमा जान नेपालीहरुलाई आग्रह गरेको हो । साथै कोभिड १९ सङ्क्रमणको लक्षण देखिएका हटलाईन १६००० मा सम्पर्क गर्न आग्रह गरेको छ ।