
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र उसको भातृ संगठनले भारतले नेपाली भूमि अनधिकृत कब्जा गरेको विरोधमा देशव्यापी प्रदर्शन जारी राखेको छ ।
नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरि त्यहाँका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीमा आयोजित एक कार्यक्रममा सडकको उदघाटन गरेसंगै नेपालमा विरोध शुरु भएको हो ।
राप्रपा अध्यक्ष कमल थापाले तुरुन्तै ट्विट गरेर यसको विरोध शुरु गरेपछि राजनीतिक, सामाजिक र समाजका विभिन्न तहमा विरोधका स्वरहरु चर्काे ढंगबाट हुन थाल्यो ।
राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले पनि ट्विट गरेर विरोध जनाए भने तिनजना अध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर नेपाली भूमि अनधिकृत कब्जा गरेको विषयमा विरोध मात्रै जनाएनन्, सरकारलाई दह्रो ढंगबाट प्रस्तुत हुन आग्रह समेत गरे ।
अध्यक्षहरुको संयुक्त विज्ञप्तिको स्पिरिट अनुसार काठमाडौंमा राप्रपाको भातृ संगठनले स्वस्फूर्त रुपमा भारतीय राजदुतावास घेराउ गर्ने कार्यक्रम तय गरे ।
दुतावास घेराउ गर्न जाने क्रममा भएको प्रदर्शनमा डेढ दर्जन बढी नेता कार्यकर्ता पक्राउ समेत परे । सोही दिन स्वस्फूर्त रुपमा मकवानपुर र गोरखामा समेत राप्रपाको जिल्ला समितिले शान्तिपूर्ण प्रदर्शन समेत गर्यो ।
यसैगरि पार्टीको मकवानपुर, गोरखा, हुम्ला, म्याग्दी, रुपन्देही, भक्तपुर, झापा, बाँके, रामेछाप, कास्की, दार्चुला, कञ्चनपुर, कैलाली, ललितपुर लगायतका जिल्ला समिति र भातृ संगठनले सदरमुकामहरुमा प्रदर्शन र राँके जुलुस प्रदर्शन गरेको छ ।
लकडाउन र कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिई सामाजिक दुरी कायम राखेर प्रदर्शनहरु भइरहेका छन् ।
राप्रपाले मातृभुमिको रक्षाको निमित्त देशभक्त जनता एकजुट हुन अपिल गर्दै नेपाल सरकारले उच्च मनोबलका साथ भारत सरकार समक्ष कुरा राख्नुपर्नेमा जोड दिदै आएको छ ।
प्रदर्शनको क्रममा राप्रपाले बिदेशीको हेपाहा प्रवृत्ति विरुद्ध सरकार खरो रुपमा नउत्रिए सरकार विरुद्ध नै आन्दोलनको तयारीमा जुट्ने समेत चेतावनी दिइरहेको छ ।
राप्रपाका नेता मोहन श्रेष्ठले नेपालको एक इन्च भूमि पनि कोही कसैले कब्जा गर्नु हडप्नु हाम्रा लागि स्विकार्य विषय हुनै नसक्ने बताएका छन् ।
देशको सीमाको रक्षा गर्नु सरकारको दायित्व हो, सरकारलाई खबरदारी गर्नु राजनीतिक दल र आम नागरिकको कर्तव्य हो ।
नेपाली भूमि कहिले नक्सामा समेटेर, कहिले सेना राखेर, कहिले सडक निर्माण गरेर कब्जा गर्ने काम भएको छ, देशमा स्थिर र बलियो सरकार छ, लोकतान्त्रिक व्यवस्था छ, प्रायः सबै राजनीतिक दलको साथ, सहयोग र समर्थन सहितको राष्ट्रिय सहमति जस्तै छ र आम नागरिकको सशक्त जनदबाब छ, यसैको पृष्ठभूमिमा नेपाल सरकारले भारतसँग डटेर कुरा गरि सधैंका लागि सिमा समस्या अन्त्य गर्नुपर्ने राप्रपाको धारणा रहेको श्रेष्ठले बताएका छन् ।