
कोरोना संक्रमणको पुष्टि भएकी जिल्ला अस्पताल धनकुटाकी नर्सले १५ दिन अघि काठमाडौबाट आएका ९ गाडी यात्रुहरुको स्वास्थ्य परीक्षणमा संलग्न भएको खुलेको छ ।
जिल्ला बाहिरबाट आएका करिव ४ सय ५० जनाको स्वास्थ्य परीक्षणमा ती नर्ससहितको टोली सहभागी रहेको पाइएको छ ।
यस्तै धनकुटाको हिले बजारमा निर्माण हुँदैं गरेको ढल निर्माणका लागि सिरहा र सप्तरीबाट आएका मजदुरहरुको स्वास्थ्य परीक्षणमा पनि उनी सहभागी थिइन ।
जिल्ला अस्पताल धनकुटामा प्रसुती विभागमा कार्यरत ती नर्सबाट प्रसुती गराएर हिजो मात्र दुर्ई जना बिमारी डिस्चार्ज भएका थिए ।
यस्तै ४ जना हाल पनि जिल्ला अस्पतालमा उपचाररत छन् । ६ जनालाई उनले नै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेकी थिइन ।
नर्सलाई कोरोना संक्रमणको पुष्टि भए पछि स्थानीय प्रशासनले धनकुटा नगरपालिका–७ नम्बर वडालाई चार किल्ला तोकेर हिजो नै शिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार आकस्मिक रूपमा सुरक्षा प्रमुख तथा सरोकारवालाहरूसँग बैठक बस्दै अस्पताल क्षेत्रलाई शिल गर्ने निर्णय गरेको हो ।
उनीसँग उपचार गराएका र सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।